Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई हिंसा र चन्दा असुली छोडेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको अपिल

काठमाडौं : नेपाली कांग्रेसले वार्ताको माध्यमबाट निकास निकाल्न नेत्र विप्लव चन्द नेतृत्वको नेकपालाई अपिल गरेको छ । नेपाली कांग्रेसले सबै खाले विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिनेसमेत बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै शान्ति र सहकार्यबाट मात्रै मुलुकको समग्र प्रगति हुने बताएका छन् ।

शनिबार शर्माले एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेका छन् । साथै कांग्रेसले नागरिकको सुरक्षाको जिम्मा सरकारको भएको तर निषेधको मार्ग अबलम्बन गरेर समाधानमा पुग्न नसकिने समेत बताएको छ ।

कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिः केही समय यता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमका बारे नेपाली कांग्रेस पार्टीको धारणाका सम्बन्धमा कतिपय अस्पष्टता प्रष्ट्याउन यो विज्ञप्ति जारी गरिएको छ ।

१) नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ ।

२) नेत्रबिक्रम चन्दले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ ।

३) नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।

४) दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मुल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ ।

५) सभापति शेरबहादुर देउवाले आज चैत्र २ गते पाल्पाको कार्यक्रम मार्फत ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसक्नु भएको छ भने नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रम मार्फत ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसक्नु भएको छ ।

६) नेपाली कांग्रेस पार्टीको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराउँदछ ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्