Logo
१५ चैत्र २०८०, बिहीबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुद्रा सपना बोकेर राजधानी प्रवेश गरेकी मोनिका ‘घरबेटी बा’ लाई पट्याउँदै

भनिन्छ, प्रकृतिले सृष्टि गर्दा सबै मानिसलाई एउटा न एउटा प्रतिभा दिएर पठाएको हुन्छ । फरक यति हो, कसैले आफ्नो क्षमता चिन्छन् र आफूलाई निखार्छन् त कोही आफ्नो क्षमता चिन्दैनन् र रोई बस्छन् ।

खुद्रा सपना बोकेर राजधानी खाल्डो प्रवेश गरेको चार वर्ष मात्रै हुँदैछ । तर उनको पोल्टामा उपलब्धिको चाङ लागेको छ । सरल स्वभावकी मोनिका दाहालले आफूलाई ‘मोनिका’ बनाउन गरेको संघर्षको किस्सा भने कम्ती मर्मस्पर्शी छैन ।

जसरी बगरमा रहेको चट्टान नदीको धाराप्रवाहले निरन्तर घोटिन्छ, त्यसैगरी आफ्नो कर्म क्षेत्रमा उनी निरन्तर लागिपरेकी छन् ।जिन्दगीको अर्काे नाम नै असन्तुष्टि हो भन्ने गरिन्छ । हो उनको मनमा पनि केही असन्तुष्टि बाँकी नै छन् ।

संस्कृतको सन्तोषम् परम् सुखम्लाई विज्ञानको असन्तोषम परम् सुखम्को धारले काटेझै आफूले प्राप्त गरेको हालसम्मको उपलब्धिबाट उनी सन्तृष्ट छैनन् । यही असन्तृष्टिले भोलि उनलाई कहाँ पु¥याउने हो त्यो भोलि नै देखिएला ।

बाल्यकालमा त्यस्तो कुनै ठूलो सपना थिएन उही खुद्रा सपना थियो मोनिकासँग । तर ‘काँचो मुछेको माटो जस्तो’ केही त बनौंला भन्नेचाहिं थियो । कान्तिपुरी नगरीमा प्रवेश गरेपछि सपनाको रंग फेरिँदै गयो ।

सायद संगत गुनाको फल हुनुपर्दछ । जीवन संयोगमा चल्दै गयो । सिन्धुली जिल्लाबाट प्लस टु सकाएर बीए लेभलको अध्ययनका लागि राजधानीको ब्रिलियन्ट कलेजको छात्रा बन्दै गर्दा त्यहाँको कार्यक्रममा नाच्न अफर आयो ।

उनी नृत्य सिक्न गएको ठाउँमा निर्देशकसँग भेट भो । महिलाको गहना नै ‘सुन्दरता’ हो । यही सुन्दरताले काम ग¥यो । पहिलो भेटमा नै निर्देशकको अफर आयो । उनले पहिले अभिनय गरेको टेलिसिरियल ‘थोरै भए पुगिसरी ।’

तिनताकाको यो चर्चित टेलिसिरियल थियो । बुवाआमालाई सुनाइन्, यस्तो अवसर आयो म के गरुँ ? बुवाआमाबाट ‘ग्रिन सिग्नल’ मिल्यो, त्यसपश्चात् उनलाई यो क्षेत्रमा यात्रा गर्न कसैले रोक्न सकेन ।

त्यही टेलिसिरियलमा अभिनय गरेपश्चात् विभिन्न म्युजिक भिडियो तथा सानो पर्दाका चलचित्र हुँदै ठूलो पर्दाका चारवटा चलचित्रमा अभिनय गरिसकेकी छन् उनले ।

सबैले भन्छन् पनि मोनिका रूपैका कारण यो क्षेत्रमा आएकी हो । गाउँमा स्कुले जीवनमा सडक नाटकको अनुभव थियो उनीसँग, तर अन्य अरू अनुभव थिएनन् । न त बाल्यकालमा उनीसँग त्यस्तो चञ्चलता नै थियो ।

नसा नसामा कलाकारिता छ । यसैले त होला सुरुका वर्ष उनले निःशुल्क अभिनय गरिन् । अहिले एउटै चलचित्रमा अभिनय गरेबापत एक लाख बीस हजारसम्म लिने गरेको हिमगाथालाई सुनाइन् ।

पहिले पहिले टेलिभिजनमा आफ्नो अनुहार देखाउन पाए, क्यामराको अघि आफू देखिन पाए कस्तो हुन्थ्यो भन्ने लाग्दथ्यो रे । पछिपछि कसरी चिनिने होला ? भन्ने सोच आउन थाल्यो ।

समय चक्र यसरी घुम्दै गयो कि यो क्षेत्रमै कसरी टिकिरहने होला ? आर्थिक उपार्जन कसरी गर्ने होला भन्ने सोच अहिले आउन थालेको छ । पहिला र अहिले फरक यति मात्रै हो ।

मोनिकाले अञ्जु पन्तको ‘नहिँडेको बाटो पर पुग्दा’, प्रल्हाद खरेलको ‘हाँसेर देखाइदेउ त्यो दन्ते लहर’ लगायतका म्युजिक भिडियो, थोरै भए पुगिसरी, मृगतृष्णालगायतका टेलिसिरियलमा अभिनय गरेकी उनी अब छिट्टै घरबेटी बामा पनि देखिँदै छिन् ।

त्यो टेलिसिरियलमा उनले घरबेटी बालाई पट्याउने अभिनय गर्नेछिन् । यस्को अलावा ‘लभ इज लाइफ’, रुद्राक्ष, वर्षात हुँदै ब्ल्याक नाइटमा मेन क्यारेक्टरमा मोनिकालाई देखिएको छ ।

आफूले अभिनय गरेको टेलिसिरियलमध्ये थोरै भए पुगिसरी टेलिसिरियलको आफ्नो रोल उत्तम लाग्छ उनलाई । त्यसमा आफ्नै बुवाको विरुद्धको भूमिकामा देख्न सकिन्थ्यो मोनिकालाई । ठूलो पर्दाका चलचित्रमध्ये दर्पण छायाले प्रभावित पारेको छ ।

‘मैले पढाइमा जति मेहनत गरेको छु त्यसको चार खण्ड बढी संघर्ष र मेहनत कलाकारितामा गरेको छु,’ उनी भन्छिन् । सुख केलाई भन्ने, दुःख केलाई भन्ने ? चिनियाँ दार्शनिक कन्फुसियसले कतै भनेका थिए, ‘तिमीले आफ्नो मनले खाएको काम गर जीवनमा कहिल्यै पनि काम गर्नु पर्दैन ।’

सायद यो उक्ति उनको जीवनसँग मेल खान्छ । सुटिङमा जाडोको समयमा छोटो डे«स लगाएर अभिनय गराइएको थियो । पानीमा भिजेर अभिनय गर्नुेपर्दा आफैंले पैसा हालेर हिरो बन्न आएका व्यक्तिले पटक पटक टेक खाएपछि उनी आफैं पनि चिसोमा पानीमा बसिरहनुप¥यो ।
कलाकारितामा यति धेरै दुःख पनि हुँदो रहेछ भन्ने चाल पाएकी थिइनन् उनले । ‘जुन थालमा खाइयो खाँदा खाँदैको भाग छोडेर कसरी अन्यन्त्र जानु ? केही हुन्छ भनेर यो क्षेत्रमा आइयो । पब्लिक फिगर बनेपछि यही त गाह्रो हुन्छ ।

अन्यत्रै कतै जागिर खान पनि मुस्किल पर्ने रहेछ,’ उनी भन्छिन् । आगामी दिनमा उनका केही योजना छन् । सकेसम्म यही क्षेत्रमा टिकिरहने नसके व्यवसाय गर्ने मुडमा छिन् मोनिका ।

केही निराशा मिश्रित स्वरमा उनले सुनाइन्, ‘सायद विवाहबन्धनमा बाँधिएपछि यो क्षेत्र छोड्छु होला । अहिले त फ्री छु तर भोलि एउटी बुहारीको भूमिका पनि त निभाउनु छ ।’

लगन जुरेको समयमा विवाह गर्ने मुडमा छिन् उनी । भोलि पर्सि नै पनि हुन सक्छ वा दुई चार वर्षपछि पनि त्यो दिन आउन सक्छ ।कलाकारितामा नलागेको भए मोनिका दाहाल अहिले कुन क्षेत्रमा हुन्थिन् होला ? सायद विवाह गरिसकेको हुन्थें होला कि ।

आफ्नो मेहनत र सुन्दरताको कारण यो क्षेत्रमा निरन्तर सफलताको बाटोमा हिँडिरहेकी मोनिका नायिकाहरू नाङ्गिनुलाई ‘बाध्यता’ भन्छिन् । कम्पिटिसनको जमाना जो छ ।

रेखा थापा र राजेश हमालबाट अत्यन्त प्रभावित मोनिकाले राष्ट्रिय भावको गीत ‘देशले के दियो मलाई’ मा हरिवंश, अनिल शाह, राजेश हमालसँगै अभिनय गर्ने मौका पाएकी छन् ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्