Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नेतृत्व पाउँदै आयल निगम, कार्यकारी निर्देशक छनौट छिट्टै हुने

काठमाडौं : अबको केही दिनमा नेपाल आयल निगमले नयाँ नेतृत्व पाउने भएको छ ।

गोपालबहादुर खड्का जग्गा खरिद घोटाला प्रकरणमा मुछिएपछि उनलाई मन्त्रालय तानिएपछि रिक्त रहेको कार्यकारी निर्देशक पदमा नयाँ मान्छे ल्याउन लागिएको हो । कार्यकारी निर्देशक पदका १७ जनाले दिएको आवेदनबाट अन्तर्वार्ताका लागि ५ जनालाई छनोट गरिएको छ ।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालको नेतृत्वमा गठन भएको छनौट तथा सिफारिस समितिले अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का, सुरेन्द्रप्रसाद पौडेललाई छनोट गरेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसयिक कार्ययोजना, मामिला अध्ययनको आधारमा उच्च अंक प्राप्त गरेको ५ जनालाई यही पुस १९ गते अन्तर्वार्ताको लागि बोलाएको छ । उक्त अन्तर्वार्ताले २ जनालाई हटाउने छ । त्यस्तै ३ जनालाई भने मन्त्रिपरिषद्मा पठाउने छ । तिनै तीन जना मध्येबाट मन्त्रिपरिषद्ले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्त गर्ने छ ।

अहिले अन्तर्वार्तामा छनोट भएका अनिलकुमार झा डोलिडारका पूर्वमहानिर्देशक हुन् । उनले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका रुपमा काम पनि गरिसकेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल पनि आयल निगमको कार्यकारी नजिक छन् । पहिले पनि निगममा प्रतिस्पर्धा गरेर दोस्रो नम्बरमा परेका लोकबहादुर खड्का यसअघि स्वरोजगार कोषमा कार्यरत थिए । उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल पनि निगममा नेतृत्वका प्रमुख आकांक्षी भनिए पनि ५ औं नम्बरमा नाम निकालेका छन् । हाल निगमको निमित्त कार्यकारीको जिम्मेवारी सुशील भट्टराईले सम्हालेका छन् ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्