Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर भन्छन् ‘मानसिक समस्या छैन, निर्मला पन्तका बुवा यज्ञराज पन्तमा तनावको असर’

काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएका निर्मला पन्तका बुवा यज्ञराज पन्तमा तनावको असर देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर पन्तमा तनावका कारण केही असर देखिएको त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा. सरोज ओझाले देश सञ्चारलाई जानकारी दिए ।

उनले भने, ‘अहिले नै के भएको हो र अवस्था के छ भन्ने बारे केही भन्न सक्दैनौँ । प्राथमिक रुपमा तत्कालका लागि मेडिसिन विभागले हेरेको र त्यहाँ फिजियोलोजिकल अवस्थाको पूर्ण परीक्षण भएर रिपोर्टहरु आएपछि हामीले उहाँको अवस्था निरीक्षण गर्नेछौँ । तर अहिलेलाई के चाहिँ भन्न सकिन्छ भने उहाँमा तनावको असर देखिएको छ ।’

तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि अहिले अवस्था सामान्य रहेको र आफूहरुले मेडिसिन विभागसँगको सहकार्यमा काम गरिरहेको डा. ओझाले बताए ।

डा. ओझाले भने, ‘हामी परीक्षणकै क्रममा छौँ । अवस्था नियाली रहेका छौँ । चाँडै नै अवस्था के हो ? भन्ने थाहा लाग्छ ।’ बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि अनशनमा बसेका यज्ञराजले केही असामान्य व्यवहार देखाएको तथा स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई त्रिवि अस्पताल ल्याइएको थियो ।

उपचारकाे जिम्मा मानसिक चिकित्सकलाई
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराजको उपचारको जिम्मा हिजो मानसिक र मेडिसिन चिकित्सकलाई लगाइएको थियो । धर्ना दिने क्रममा असामान्य व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई बेहोस बनाई गाडीबाट राजधानी ल्याइएको थियो ।

लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनलाई आकस्मिक कक्षका डा.तीर्थमान शाक्य नेतृत्वको टोलीले हेरेको थियो ।

करिव तीन महिना अघि छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि यज्ञराज र उनकी पत्नी दूर्गादेवी न्यायको लडाईमा होमिएका थिए ।सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै उनीहरुले यही कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिन थालेपछि यज्ञराज बिरामी हुनुका साथै उनले असामान्य व्यवहार प्रदर्शन गर्न थालेका थिए ।

उनको जीवन रक्षाका लागि भन्दै बेहोस बनाएर प्रहरी सहायक निरक्षक दीपक धामी नेतृत्वको सुरक्षा टोली, पत्नी दुर्गा, भिनाजु लगायत आफन्तसँगै उनलाई निजी गाडीमा आइतबार साँझ राजधानी ल्याइएको हो ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्