Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लक्षचण्डी यज्ञ’ मा सहभागी हुन पूर्व-राजपरिवार मंगलबार बिहानै पुगे मुम्बई

महाराष्ट्र स्थित श्री शिवशक्ति शाहुलेश्वरानंद फाउन्डेशनद्धारा आयोजित लक्षचण्डी यज्ञमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित मंगलबार बिहान मुम्बई पुगेका छन् । शारदीय नवरात्रका अवसरमा आयोजित उक्त यज्ञ असोज २४ मा सुरु भएर कात्तिक १ मा समापन हुनेछ ।

धार्मिक तथा सामाजिक सुधारको क्षेत्रमा सक्रिय उक्त फाउन्डेशनले काठमाडौँमा केही पहिला १०० जोडीको निःशूल्क सामूहिक विवाह, २०७२ को विनाशकारी भूकम्प प्रभावितहरुका लागि राहत सामग्री वितरण, त्यस अवधी र पछि नाकाबन्दीका समय पनि भण्डार सञ्चालन तथा सामूहिक चूडाकर्म (जनै संस्कार) सम्पन्न गरेको थियो ।

शारदीय लक्षचण्डीमा नेपालको पूर्व राजपरिवारसँगै करिब एक लाख भारतीय श्रद्धालुले भाग लिने बताइएको छ । त्यस्तै शिवसेना नेपालबाट एक हजार भन्दा बढी स्वामी राहुलेश्वरानंदका शिष्यहरु पनि यज्ञमा सहभागी हुन लागेको त्यसका प्रमुख अनिल बाबाले बताए ।

श्री शिवशक्ति राहुलेश्वरानंद फाउन्डेशन तथा त्यसका प्रमुखको निमन्त्रणमा पूर्व राजा, पूर्व रानी, पूर्व युवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्र उक्त यज्ञमा सहभागी हुन मुम्बई पुगेको आयोजक संस्थाले जानकारी दिएको छ । हिमालयस्थित अनेकौँ ऋषिगण, खासगरी स्वामी त्रिजटा, महावतार बाबा र निखिलेश्वरानंदद्धारा दीक्षित राहुलेश्वरानंद नेपालको आध्यात्मिक उत्थानमा सक्रिय रही आएका छन् र नेपालमा तपस्या नगरी सिध्दी प्राप्त नहुने मान्यता राख्छन् ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्