मन्त्री पाण्डेको आरोप : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन्।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरूलै उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
सांसदहरूले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए। मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको बताए। तर सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको बताए। सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ।
मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको बताए। आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताए।