विद्यालय शिक्षा विधेयक : ७५ प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले ७५ प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र सभामुख देवराज घिमिरेलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियुले यस्तो माग गरेको हो ।
शिक्षक बन्न चाहने लाखौं युवालाई कुनै पनि प्रतिरोध नगरी समान अवसर दिनका लागि कम्तीमा ७५ प्रतिशत शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था गर्न माग गरिएको हो ।
अनेरास्ववियु अध्यक्ष डाक्टर सुजन कडरिया, महासचिव दिपक धामी लगायतको टोलीले शिक्षामन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यालय शिक्षा विधेयक शिक्षा समितिमै अल्झिरहेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए । ७० लाख विद्यार्थीको भविष्यका लागि शिक्षा विधेयक चाँडो पारित गर्न समेत माग गरिएको छ ।
सार्वजनिक शिक्षामा आम जनताको विश्वास बढाउन कानुनी सुनिश्चितता आवश्यक भएको बताउँदै, समय सापेक्ष पाठ्यक्रम, व्यवहारिक परीक्षा प्रणाली, सुविधा सम्पन्न पूर्वाधार र योग्य शिक्षकको व्यवस्था अनिवार्य रहेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।