बहुप्रतिक्षित निजामती विधेयक सदनमा पेश, आजै पारित गर्ने तयारी
काठमाडौंं । संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल गरेर प्रतिवेदनसहित पारित भएको विधेयक समितिका सभापति रामहरि खतिवडाले संसदमा पेश गरेका छन् ।
कम्तीमा ७ वर्षदेखि राज्य व्यवस्था समितिमै विवादित भएर बसेको यो विधेयक गत जेठ २ गते समितिबाट पास भएको थियो ।
पेश गरेको विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आइतबार छलफलका लागि पेश गरेपछि उक्त विधेयकमाथिको छलफल सुरु भएको हो ।
छलफलको सुरुमा माओवादी सांसद एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पूर्वमन्त्री जनार्दन शर्माले विधेयकमाथीको आफ्नो धारणा राखेका छन् भने अहिले नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले धारणा राखिरहेकी छन् ।
प्रतिनिधिसभाको कार्यसूची अनुसार आइतबारकै बैठकबाट पारित गर्ने तयारी रहेको छ ।
विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउने र कुलिङ पिरियड २ वर्ष राख्ने प्रावधान राखिएको छ ।
६० वर्षे उमेर हद भने एकैपटक लाग्ने छैन । समितिमा भएको सहमति अनुसार कानून बनेको आर्थिक वर्षसँगै अवकाश हुने कर्मचारीको एक वर्ष जागिर बढ्नेछ भने दोस्रो वर्षमा अवकाश हुनेले थप एक वर्ष अर्थात ६० वर्षको उमेरमा अवकाश पाउनेछन् । अतिरिक्त सचिव आवश्यकता अनुसार राखने सहमति जुटेको छ ।
विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका २०८१ को जेठ १५ मा पठाइएको थियो ।
विधेयकमा १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको थियो ।