‘कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबल-टेबलको शासन अन्त्य गरौं’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर सेवा करारमा कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथीको छलफलमा भाग लिने क्रममा पूर्वमन्त्री समेत रहेका माओवादी सांसद शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
माओवादी सांसद शर्माले भने, ‘अब यहाँ साधारण खर्च हामीले नधान्ने अवस्थामा आजको भरीभराउ कर्मचारीलाई आधा कटौती गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु, मेरो भनाइ राख्दै आएको छु । त्यसलाई पनि यसले आज सम्बोधन गर्नुपर्छ र अब करारमा, करार सेवामा, सेवा करारमा राखेर काम परिणाममुखी काम गर्नुपर्छ । भद्दा संरचना, परिणामविहीन संरचनाको अर्थ छैन ।’
सांसद शर्माले देशमा प्रधानमन्त्रीलाई मात्रै कार्यकारी अधिकार रहेको अवस्थामा टेबल–टेबलमा कर्मचारीले शासन गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनले भने, ‘आज देशमा देशको कार्यकारी भूमिका भनेको कार्यकारी अधिकार भनेको प्रधानमन्त्रीमा निहित छ । प्रधानमन्त्रीले नै शासन गर्नुपर्ने बेलामा यो देशमा शासन प्रधानमन्त्रीले होइन, टेबल–टेबलमा शासन हुने गरेको छ । मैले विगतदेखि यो कुरा उठाउँदै आएको छु । यो टेबल–टेबलको शासनलाई अन्त्य गर्ने गरी, कार्यकारी प्रमुखले नै यसलाई शासन गर्ने व्यवस्था हामीले कसरी गर्छौ भन्ने लगायतका विषय यहाँ आज रहेका छन् ।’