जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता
दाङ – उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपा, नेपालले जनाएको छ। जसपाबाट लुम्बिनी प्रदेश सभामा एक जना मात्रै प्रदेश सभा सदस्यकाे प्रतिनिधित्व छ।
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी छन्।
पार्टी विभाजन हुँदा काफ्ले जनता समाजवादी पार्टी, नेपालतर्फ लागेकी थिइन् भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए। काफ्ले समानुपातिक सांसद हुन्।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जना सांसदकाे समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यकाे नेतृत्वमा सरकार गठन भएको थियाे।
जसपा, नेपालसहित केही साना दलले सरकारलाई विश्वासकाे मत दिएका थिए। जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिए पनि कुनै असर नपर्ने जनाइएको छ।