Logo
५ श्रावण २०८२, आईतबार
(June 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल जोगाउन २० वर्षसम्म एक महिने ‘सगरमाथा वृक्षरोपण महाअभियान’

काठमाडौँ ।  सरकारले एक महिने वृक्षरोपण अभियान चलाउने भएको छ । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको भन्दै मन्त्रालयले भर्खरै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व जगतलाइ ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’ को आह्‌वान गरेको थियो ।

सोही संवादलाई आधार मानेर नेपालबाट नै हिमालय जोगाउने प्रयासका रूपमा वृक्षरोपण अभियानलाई चलाउने तयारी गरेको हो यसको लागि ८ असारमा मन्त्रिपरिषद्ले २० वर्षसम्म प्रत्येक एक महिना वृक्षरोपण गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूल,जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।

यो अभियानले  कार्बन उत्सर्जन न्यूनीकरण, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण लगायत हुने अपेक्षा गरिएको छ ।

यो अभियानमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरू सहभागी हुनेछन् भने अन्य सङ्घ संस्थाहरूलाई पनि सरकारले आह्‌वान गरेको हो । वृक्षरोपण  आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि गर्न सकिने मन्त्रालयले जनाएको छ । यसलाई राष्ट्रिय पर्वका रूपमा संस्थागत गर्ने प्रयास मन्त्रालयको रहेको छ ।

प्रकाशित मिति: Jun 27, 2025

प्रतिक्रिया दिनुहोस्