Logo
५ श्रावण २०८२, आईतबार
(June 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार सम्भव भएसम्म विपद्को पूर्व तयारीमा छः गृहमन्त्री

काठमाडौं, १२ असार । गृहमन्त्री रमेश लेखकले यस वर्ष औषतभन्दा बढी वर्षा हुने भएकाले विपद्को सम्भावना बढी रहेको बताएका छन् । आज (बिहीबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस पटक विपद्को कारण ठूलो धनजनको क्षती हुने सम्भावना रहेको बताएका हुन् ।

‘विभिन्न ठाउँमा वर्षा औषतभन्दा बढी हुने सम्भावना छ । त्यसको अर्थ स्वभाविक रुपले बाढीको सम्भावना बढेको छ, डुवानको बढेका छ, पहिरोको बढेको छ । सडक अवरुद्ध हुने, जनधनको क्षति हुने खतरा रहेको छ,’ उनले भने, ‘विपद्को पूर्व तयारी एउटा पाटो हो भने विपद्को प्रतिकार अर्को पाटो हो । सरकार सम्भव भएसम्म विपद्को पूर्व तयारीमा छ ।’

उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले देशभर विपद्को पूर्व तयारीमा काम गरिरहेको बताए । देशभरका प्रहरीसँग आफूले अन्तरक्रिया गरेर तयारी अवस्थामा रहन भनेको पनि उनले सुनाए ।

साथै, उनले डीएचएमसँगको सहकार्य र समन्वयमा मौशमको पूर्वानुमान र शीघ्र सूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरणमा ध्यान दिइएको पनि बताए ।

विपद्को पूर्व तयारी र विपद्पछिको उद्धार कार्यका सन्दर्भमा पछिल्लो समयमा गृह मन्त्रालयमा निरन्तर बैठक राखिएको उनले बताए । नगरपालिका महासंघ, गाउँपालिका महासंघका पदाधिकारीहरु र अरु संवद्ध सरोकारवालाहरु पनि राखेर पालिकासम्मै पूर्व तयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मिति: Jun 26, 2025

प्रतिक्रिया दिनुहोस्