‘लालीबजार’मा स्वस्तिमाको गर्भवती रूप, फिचर्ड पोस्टर सार्वजनिक
काठमाडौं । नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।
‘जात्रा’ शृङखलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सले निर्माण गर्न लागेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्ने भएकी हुन् ।
‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।
पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएकी छन्, तर उनको शृंगार र हाउभाउले फरक कथावस्तु संकेत गर्छ । उनको शारीरिक अवस्था र चाहनाबीचको भिन्नता पोस्टरमा स्पष्ट झल्किन्छ ।
यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन् ।
उनले भनेकी छन्–‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’