अमेरिकालाई इरानको कडा चेतावनी – तिमीले युद्ध सुरु गर्याैँ, अन्त्य हामी गर्नेछाैँ
इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले अमेरिका अब इरानविरुद्धको युद्धमा सिधै संलग्न भएको दाबी गर्दै परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
इरानको ‘पवित्र भूमि’को उल्लंघन गरेको बदला लिइने बताउँदै उनले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिकाले अब गम्भीर, दुःखद र अप्रत्याशित परिणाम भोग्नुपर्नेछ । ती परिणाम अपरेसनमार्फत दिइनेछ ।’
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अंग्रेजी भाषामै सम्बोधन गर्दै भनेका छन् , ‘मिस्टर ट्रम्प, तपाईंले युद्ध सुरु गर्नुभयो, अन्त्य हामी गर्नेछाैँ ।’
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले इरानका कमाण्डर इन चीफ अमीर हातमीको अर्को भिडियो सार्वजनिक गरेका छन् । हातमीले उक्त भिडियोमा भनेका छन्, ‘विगतमा अमेरिका जब–जब इरानविरुद्ध अपराधमा उत्रियो, उसले कडा जवाफ पाएको छ । यसपटक पनि त्यही हुनेछ ।’