Logo
५ श्रावण २०८२, आईतबार
(June 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोग बनाएर ०४६ पछि सत्तामा पुगेका सबैको सम्पत्ति छानविन गरौंः महामन्त्री

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०४६ सालपछि सत्तामा पुगेका सबै नेताहरुको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आज (आइतबार) नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले साहस गरेर ०४६ पछि अहिलेसम्मका सबै नेताहरुको सम्पत्ति छानविन गर्न तयार भएमामात्रै अहिलेको पुस्ताले विश्वास गर्ने उनले बताए । ०४६ पछि संसद्, मन्त्री, मेयर, वडाअध्यक्ष बनेका सबैको सम्पत्ति छानविन हुनुपर्ने उनले बताए ।

‘२०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको हो । नेपाली कांग्रेुस सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मा लिएका छौं, सांसद, मन्त्री, वडाअध्यक्ष, मेयर जे–जे भयौं । २०४६ सालदेखि यहाँसम्म आइपुग्दा करिब ३० वर्षभन्दा लामो समयको एउटा शक्तिशाली छानविन आयोग बनाऔं । पूर्वन्यायाधीश देशले पत्याएको मान्छे छानौं, निष्पक्ष काम गर्ने मान्छे छानौं । यस्तो मान्छे छानौं कि त्यो कांग्रेस, एमाले, माओवादी केही पनि नहोस्, कुनै पार्टीको भागबण्डा नगरी मान्छे छानौं र त्यो मान्छेलाई २०४६ सालपछि काम गरेका, जिम्मामा बसेका प्रत्येक नेताको सम्पत्ति छानविन गर्न लगाऔं,’– उनले भने ।

नेताको अगाडि, पछाडि, वरिपरी भएका सबै जनालाई छानविनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यसरी छानविन गर्न लगाउँदा कांग्रेसकै जो–जो परे पनि कारबाहीको भागिदार बनाइनु पर्ने उनले बताए । जुनसुकै तहको, जतिसुकै शक्तिशाली, नेता र नाताका मान्छे परे पनि कांग्रेस चुइँक्क पनि नबोली आयोगले दिएको निर्देशनको आधारमा कारबाही गरिएमात्रै अहिलेका जेनरेशनका मान्छेहरुले पार्टीप्रति विश्वास गर्ने उनको भनाइ छ ।

साथै, जनतामा रहेको गुनासोलाई सम्बोधन नगरी र त्यो गुनासोलाई बुझ्ने प्रयास नगरी जनताको बीचमा जान नसकिने उनको भनाइ छ । साथै, नेविसंघलाई उनले जस्तोसुकै अप्ठ्यारो परे पनि, जुनसुकै कुरामा चित्त नबुझे पनि आज उपरान्त कहिले पनि विश्वविद्यालयमा ताला लगाउँदैनौं भनेर संकल्प गर्न पनि उनले आग्रह गरे । साथै, शिक्षकहरुलाई कालोमोसो दल्ने, तोडफोड गर्ने काम हामी कहिले पनि गर्दैनौं भनेर नेविसंघले संकल्प गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: Jun 22, 2025

प्रतिक्रिया दिनुहोस्