मन्थलीमा भाँचियो तामाकोशीको मोटरेबल पुल
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ कुनाउरी र वडा नम्बर ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमाथिको निर्माणाधीन मोटरेबल पुल पुनः भाँचिएको छ । आइतबार बिहान निर्माणको क्रममा रहेको पुलको भटौलीतर्फको स्ल्याब भाँचिएर तल खसेको हो ।
स्थानीयवासीहरूका अनुसार, यही स्थानमा यसअघि २६ वैशाखमा पनि पुल भाँचिएको थियो । त्यसपछिको पुनर्निर्माण कार्य चलिरहेका बेला फेरि त्यही भाग भाँचिएको हो ।
कालिका/कल्पवृक्ष जेभी नामक कम्पनीले पुल निर्माणको जिम्मा लिएको हो । सडक विभागअन्तर्गतको पुल महाशाखासँग २०७८/७९ मा भएको सम्झौताअनुसार, कम्पनीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण कार्य २०८२ भदौ मसान्तसम्म सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो । हालसम्म ६० प्रतिशत भुक्तानी भइसकेको अवस्थामा फेरि पुल भाँचिएपछि स्थानीयवासीले कमसल काम भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ । पुल निर्माण सम्पन्न भएपछि मन्थली–भटौलीसहित खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको आपसी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । साथै, सिन्धुलीको खुर्कोट र रामेछापको मन्थलीबीचको दूरी छोट्याउने प्रमुख विकल्पकारूपमा यो पुल महत्त्वपूर्ण मानिएको छ ।