Logo
१० जेष्ठ २०८२, शुक्रबार
(May 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जरिवाना तिर्न सङ्कलित रकम, महानगरले पत्र सच्याए मात्र बुझाउने अडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले रकम सङ्कलन गरेका छन् । सङ्कलित रकम राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई हिजो हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवानाको पत्र पठाएपछि राजसंस्था समर्थकहरु आक्रोशित बनेका थिए । उनीहरुले सो जरिवाना निर्मल निवासलाई नतिराउने भन्दै चन्दा सङ्कलन अभियान चलाएका हुन् । समितिका संयोजक नवराज सुबेदीलाई ८ लाख ३९ हजार ४ सय रुपैयाँ बुझाइएको छ ।

महानगरले पूर्वराजालाई तीनकुने आन्दोलनमा प्रमुख जिम्मेवार ठहर्‍याउँदै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवानाको पत्र बुझाउन गएका महानगर कर्मचारीहरूलाई निर्मल निवासले फर्काइदिएको थियो । त्यसपछि हुलाकबाट पत्र पठाइएको महानगरले बताएको छ । निर्मल निवासले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राजावादीहरुले तीनकुने आन्दोलनको आयोजक दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान भएकाले राजालाई जरिवाना तिराउन खोज्नु बालेनको बदनियत भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: May 9, 2025

प्रतिक्रिया दिनुहोस्