Logo
११ जेष्ठ २०८२, शनिबार
(May 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्जावमा नेपाली विद्यार्थीहरु त्रासमा, सुरक्षित उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह

भारतको पश्चिमी क्षेत्रमा पर्ने पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि भारतले सञ्चालनमा ल्याएको ‘अप्रेशन सिन्दूर’ का कारण भारत–पाकिस्तानबीचको तनाव थप चुलिएको छ। भारतीय सेनाको कारबाहीपछि पाकिस्तानले पनि जवाफी आक्रमण थाल्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा स्थिति अत्यन्तै संवेदनशील बनेको छ।

दुवै देशको सीमाक्षेत्रमा रातको समयमा साइरन बज्ने, आकाशमा ड्रोन र मिसाइल देखा पर्ने घटनाहरू निरन्तर भइरहेका छन्। यस्तो युद्धजन्य वातावरणले सीमावर्ती भारतीय राज्यहरूमा बसोबास तथा अध्ययनरत नेपाली नागरिक र विद्यार्थीहरूमा त्रास बढाएको छ। भारतको पञ्जाब राज्यस्थित लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) मा अध्ययनरत सिन्धुपाल्चोक मेलम्चीकी सुष्मा सिग्देलले आफूहरू चरम असुरक्षित महसुस गरिरहेको बताइन्। उनका अनुसार, पञ्जाब क्षेत्रमा अहिले दिनमा सामान्य शान्ति देखिए पनि रातमा आकाशमा ड्रोन देखिने र साइरन बज्ने क्रम जारी छ।

“राति ब्ल्याकआउट गरिन्छ, विद्युत आपूर्ति बन्द हुन्छ, साइरनहरू घन्किन्छन्। हामीलाई विश्वविद्यालय परिसर बाहिर जान अनुमति छैन।” उनले सेतोपाटीसँग भनिन्। उनका अनुसार, विश्वविद्यालयको कक्षा र परीक्षा पनि हालका लागि स्थगित गरिएका छन्।

सिग्देल अध्ययनरत विश्वविद्यालय पाकिस्तानको सीमाबाट १६४ किलोमिटर टाढा पर्छ। यति नजिक भएकाले पाकिस्तानबाट हुने ड्रोन आक्रमण वा क्षेप्यास्त्र प्रहारको त्रास थप तीव्र भएको उनी बताउँछिन्। बिहीबार मात्र पञ्जाबको जालन्धर नजिकै ड्रोन देखिएको थियो, जुन भारतीय सुरक्षा प्रणालीले निष्क्रिय बनाएको हो।

हाल एलपियूमा करिब ३०० नेपाली विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले केही परीक्षा अनलाइनबाट लिन सकिने बताएपछि केही नेपाली विद्यार्थी जोखिम मोलेर घर फर्कने प्रयासमा लागेका छन्। “हामीलाई घरबाट पनि चाँडै फर्कन भनिएको छ। केही साथी फर्किसक्नुभएको छ तर यस्तो संवेदनशील परिस्थितिमा कसरी सडकमार्ग वा विमानस्थलसम्म सुरक्षित पुग्ने भन्ने चिन्ता छ,” सिग्देलको भनाइ छ।

यसैबीच, भारत–पाकिस्तान तनावबीच परेका नेपालीहरूको अवस्थाबारे सरकारी चासोको अभाव देखिएको छ। सिग्देलले भनेकी छिन्, “नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयबाट अहिलेसम्म कुनै जानकारी वा निर्देशन आएको छैन। यत्रो डर र अन्योलमा बस्नुभन्दा सरकारले घर फर्कने सहज वातावरण बनाइदिए हुन्थ्यो।”

यही विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै उनले भनेका छन्, “भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी, लाखौं श्रमिक र व्यवसायी छन्। युद्धले तिनको जीवन जोखिममा पारेको छ। पहलगाम घटनामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भइसकेको छ। यस्तो बेलामा सरकारको गम्भीर चासो र सक्रिय पहल अपरिहार्य छ।”

अहिले भारत–पाकिस्तान सीमामा स्थिति अत्यन्त तनावपूर्ण छ। पछिल्ला केही रातमा दुवै पक्षबीच ड्रोन र मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञहरूको भनाइमा, यस्तो सैन्य तनावको चपेटामा परेका तेस्रो मुलुकका नागरिकहरूको संरक्षण सम्बन्धित दूतावास र सरकारहरूको जिम्मेवारी हो। नेपाल सरकारले पनि तुरुन्त सम्बन्धित मुलुकहरूसँग समन्वय गरी नेपालीहरूको सुरक्षित उद्धार र सहजीकरणमा पहल गर्नु अत्यावश्यक देखिन्छ।

प्रकाशित मिति: May 9, 2025

प्रतिक्रिया दिनुहोस्