Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघलाई नवराज सुवेदीको ज्ञापनपत्र

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलने क्रममा सरकारले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाएका छन् ।

सुवेदीको नेतृत्वमा गएको एउटा प्रतिनिधिमण्डलले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा आज सो ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सुबेदीले आफूलाई सरकारले बिना पक्राउपूर्जि झण्डै एक महिना घरमा नजरबन्द गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा समेत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘मार्च २८ को बेलुकादेखि अप्रिल २१ सम्म सुरक्षाकर्मीले मलाई २४ घन्टा निगरानीमा राखे र बाहिर आवतजावत गर्न दिएनन् । मलाई कुनै पक्राउ पूर्जि पनि दिइएको थिएन, जसको पुष्टि राष्ट्रिय मानवअधिकार आयोगले पनि नगरिसकेको छ । नेपाली सेनाले माइन प्रोटेक्सन भेइकल र आम्र्ड प्रोटेक्सन करिअरसमेत मेरो घर अगाडि प्रदर्शन गर्यो । यो अन्तर्राष्ट्रिय मानवअधिकार कानून र हाम्रो देशको संविधान विपरित छ ।’

उनले तीनकुनेमा भएको आन्दोलनमा राज्यबाट अहिलेसम्मकै अत्यधिक बल प्रयोग गरेको सुवेदीले दावी गरेका छन् ।‘नेपालमा धेरै राजनीतिक क्रान्ति र आन्दोलनहरु भइसकेका छन् । तर, तीनकुनेमा जति शक्तिप्रयोग विगतमा कहिल्यै भएको थिएन । कुनै पनि सरकारले यति धेरै मानवअधिकारको उल्लंघन गरेका थिएनन्,’ ज्ञापनपत्रमा भनिएको छ ।

संविधानले दिएको अधिकार प्रयोग गर्दा एकैपटक धेरैलाई थुनामा राखिएको र मानवअधिकारको उल्लंघन गरिएको आरोप ज्ञापनपत्रमा लगाइएको छ । गैरन्यायीक रुपले थुनामा राखिएकाहरुलाई निशर्तरुपमा अबिलम्ब रिहा गर्न माग पनि गरिएको छ ।

प्रकाशित मिति: Apr 25, 2025

प्रतिक्रिया दिनुहोस्