Logo
८ जेष्ठ २०८२, बुधबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद बैठक बस्ने

प्रतिनिधिसभाको बैठक शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन बस्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको संयुक्त बैठकले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेटको चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद बैठक बस्ने निर्णय गरेको हो । बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट, विद्यालय शिक्षा, निजामती विधेयक पास गर्नुपर्ने चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । सभामुख घिमिरेको उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन बस्ने गरीको क्यालेन्डरबारे १२ वैशाखमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । बैठकमा सभामुख घिमिरेले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न उपसमितिले प्रतिवेदन बुझाएलगत्तै संसदबाट विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका थिए ।  ‘विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ,’ उनले भने, ‘उपसमितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ ।’

प्रतिवेदन तयार पार्न गठित उपसमितिलाई २३ वैशाखभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । सभामुख घिमिरेले विद्यालय शिक्षा विधेयकलाई जुनसुकै दिन संसदमा पेस गर्ने गरी क्यालेन्डरमा सुरक्षित गरिने बताए । ‘जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ,’ उनले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २२ दिनदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्