Logo
१७ बैशाख २०८२, बुधबार
(March 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद् उद्धारमा ज्यान गुमाएका सशस्त्रका इन्स्पेक्टर बडूवाललाई ५ लाख दिने निर्णय

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेको रोशीमा विपद् उद्धारमा खटिँदा स्वास्थ्य समस्या भएर ज्यान गुमाएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडूवाललाई ५ लाख दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

असोज ११ र १२ मा आएको अविरल वर्षपछि रोशी गाउँपालिकामा उद्धारमा खटिएका बडूवाल गम्भीर बिरामी परेर उपचारको क्रममा उनको असोज २८ मा मृत्यु भएको थियो । बडूवाललाई सम्मान गर्ने र परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

कार्यकारी समितिको ३० औँ बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागी पाँचवटा पाठ्यक्रम पारित गरेको छ । स्तरीकृत तालिम मोड्युलहरुको पाठ्यक्रम बैठकबाट पारित गरिएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । खोज तथा उद्धार र राहत व्यवस्थित गर्न सुरक्षा निकायबाट सञ्चालन गर्ने तालिमको साझा मापदण्ड तयार गर्न पाठ्यक्रम महत्त्वपूर्ण हुने बताइएको छ ।

मनसुनजन्य विपद्बाट क्षतिग्रस्त र पश्चिम नेपालको भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापना योजनामा छुट भएका विषयहरूलाई पूरक अंगको रूपमा समावेश गर्न राष्ट्रिय परिषद् बैठकमा लैजाने निर्णय गरेको छ । आर्थिक वर्षको बजेट तर्जुमामा गर्दा तिनै तहका सरकारको विपद् बजेट कोड राखेर विनियोजन गर्न अर्थ मन्त्रालयमा लेखेर पठाउने निर्णय गरिएको छ ।

पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निर्माणका लागी भइरहेको विस्तृत क्षति आकलन तथा अनुदान वितरणबारे बैठकमा छलफल भएको छ । बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘भूकम्पबाट (डोटी,अछाम र जाजरकोट)मा भएको विस्तृत क्षति आँलकन गर्ने र आकलन भएको ठाउँमा निजी स्थायी आवास निर्माणको कार्य अघि बढाउने निर्णय  गरिएको छ ।’

यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भएका निजी आवासको आगामी साताबाट क्षति आकलन गर्ने प्राधिकरणले तयारी गरेको छ ।

बैठकले खोज तथा उद्धार मापदण्ड–२०८१ लाई बारे छलफल गर्दै सुरक्षा निकायबाट आएको सुझाव समेटेर अर्को बैठकमा पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ । गृहमन्त्री लेखकले प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टलाई बैठकमा स्वागत गर्दै कार्य सफलताको शुभकामना दिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, आईजीपी दीपक थापा सहित उच्च अधिकारीहरू बैठकमा सहभागी थिए ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक डा. भीष्मकुमार भुसालले तीन महिनामा प्राधिकरणको नेतृत्वमा रहँदा भएका कामहरूको बारेमा जानकारी गराएका थिए ।

असोजमा वर्षाका कारण बागमती र कोशीमा भएको क्षतिको विस्तृत क्षति आकलन पनि अघि बढाउने निर्णय गरिएको गृहमन्त्री लेखकले जानकारी दिए । उनले भने,‘अस्थायी र स्थायी निजी आवास बनाउने गरी अघि बढ्छौँ ।’

प्रकाशित मिति: Mar 20, 2025

प्रतिक्रिया दिनुहोस्