Logo
१२ चैत्र २०८१, बुधबार
(February 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा घटना : बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय पक्राउ

७ फागुन, काठमाडौं । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागर कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । वडा प्रहरी कार्यालय बैदामका अनुसार कमलेशकुमारमाथि अनुसन्धान अघि बढेको छ ।

३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए । बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन उडाउने क्रममा विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो । अर्थमन्त्री पौडेल डिस्चार्ज भइसकेका छन् भने मेयर आचार्यको उपचार जारी छ ।

पक्राउ परेका कमलेशमाथि के कसुरमा अनुसन्धान हुने भन्ने प्रहरी नै अन्योलमा छ । यो घटना छानबिन गर्नका लागि भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति पनि बनाइएको थियो ।

प्रकाशित मिति: Feb 19, 2025

प्रतिक्रिया दिनुहोस्