ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित
काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो ।
छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ ।
बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरू रहेका थिए । छलफलमा सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।
‘छलफलका क्रममा नेपाल आयल निगमसमक्ष संघले पेस गरेका मागहरूलाई सकारात्मक रूपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मिति देखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो,’ सचिवालयले भनेको छ ।
ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए ।