सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
२९ माघ, काठमाडौं। सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुरबस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीको आरोप छ ।
प्रहरीले उनीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।