Logo
१२ चैत्र २०८१, बुधबार
(February 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने भएको छ ।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो । योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए ।

उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।

उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ ।

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँमा समेत यो प्रविधि जडान गरिने उनले बताए ।

‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई ‘पुस’ गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो,’ उनले भने ।

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् ।

पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास व्यक्त गरिन् ।

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन् ।

काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।

प्रकाशित मिति: Feb 5, 2025

प्रतिक्रिया दिनुहोस्