Logo
१२ चैत्र २०८१, बुधबार
(February 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले पोखराको बखान गरे, राजनीतिबारे चुइँक्क बोलेनन्

२१ माघ, पोखरा । नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले हुन्छ ठ्याक्कै यकिन नभए पनि नेता कार्यकर्तालाई यसले विभाजित गरिसकेको छ । अबको महाधिवेशन कसरी जाला, सभापति शेरबहादुर देउवाको धारणा के होला, अबको नेतृत्वबारे के भन्लान् भन्ने चासो पोखरा सभागृहका सहभागीलाई थियो ।

कांग्रेस पोखरा नगर सम्मेलनमा उपस्थित नेता कार्यकर्ताले यो सरकार र गठबन्धनका विषयमा देउवाको धारणा सुन्न चाहेका थिए । देउवाले भने नेता कार्यकर्ताको भावना र भनाइको कुनै प्रवाह गरेनन् ।

उनी अहिलेको राजनीतिक अवस्था, सरकार र गठबन्धनको विषयमा प्रवेश नै गरेनन् भने नेता, कार्यकर्ताले चासोका साथ सुन्न चाहेको अबको नेतृत्वबारे पनि उनले कुरै राखेनन् । देउवा न पार्टीभित्रको गुट–उपगुटबारे नै बोले । राजनीतिक तथा समसामयिक विषयमा चुइँक्क नबोली देउवाले पोखरा र यहाँको प्रकृतिको बयान गरेर भनाइ टुंग्याइदिँदा नेता कार्यकर्ता भने छक्क परे ।

कांग्रेस पार्टीको आन्तरिक जीवन, आगामी चुनाव र अबको रणनीतिबारे सभापति देउवाले कुरा राख्लान् भन्ने आशय मञ्चमा बोल्ने नेताहरुले गरेका थिए । कार्यक्रमको सुरुमै पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले पार्टीको विधान, अधिकार प्रत्यायोजन र नेतृत्वका विषयमा भनाइ राखे ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीभित्र सबैलाई ठाउँ र अधिकार दिने सन्दर्भमा नेतृत्वप्रति गुनासो गरेका थिए । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति तथा गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप खेपेका कृष्ण केसीले कार्यकर्ताको मनोबल गिर्ने गरी निर्णय नगर्न नेतृत्वलाई सचेत गराए ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कांग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता हराउँदै गएको र गुट–गुटले कमजोर भएको सभापति देउवा समक्ष भनाइ राखे । बोल्न कम्युनिष्टले बोले पनि काम कांग्रेसले गर्ने तर अहिले भने कांग्रेसले पनि गर्न नसकेको शर्माको गुनासो थियो ।

सहमहामन्त्री डिना उपाध्याय, पार्टी प्रवक्ता प्रकाशशरण महत, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, गुरु बराललगायतले पार्टीको आन्तरिक जीवन र सुदृढीकरणबारे बोलेका थिए ।

प्रवक्ता महतले कसैको नाम नखुलाइकन कसैले पार्टीमा नेतृत्व स्थापित गर्न खोजेको बताउँदै यसले झन् पार्टी र जनाधार कमजोर बनाएको बताएका थिए । उनको संकेत महामन्त्री गगन थापाप्रति भएको नेता कार्यकर्ताले सहजै अड्कल गरेका थिए ।

आगामी महाधिवेशमा महामन्त्रीको उम्मेदवार बन्ने सार्वजनिक रुपमा घोषणा गरेका केन्द्रीय सदस्य नैनसिंहले गुट र प्यानलको लिस्ट नबनाइ चुनाव लड्ने वातावरण बनाए गुट आफैं अन्त्य हुने बताए । महानगरको सम्मेलनमा भएको कम उपस्थितिप्रति पनि संकेत गर्दै घट्दो सहभागिता र गुटबन्दीले कांग्रेस कमजोर हुने उनको भनाइ थियो ।

नेताहरुको भनाइपछि देउवा बोल्ने पालो आउँदासम्म हलमा उपस्थितिको संख्या घटिसकेको थियो । तर, हलमा रहने धेरै नेता कार्यकर्ता चाहिँ देउवाले अहिलेको पार्टी, राजनीतिक तथा समसामयिक विषयमा कुरा राख्लान् भनेर पर्खिरहेको केन्द्रीय प्रचार विभाग सदस्य गंगाधर पराजुलीले बताए ।

देउवाले पोखराको सुन्दरता, यहाँको ९ ताल, हिउँ नभएको माछापुच्छ्रे र आफू यहीँ केही समय जेल बसेको बताए । उनले पोखरा बनाउने जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै यहाँको विकासका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने जोड दिए । हार–जित जे भए पनि उत्ताउलो नभइ लाग्न निर्देशन दिएर देउवाले भनाइ सकेका हुन् ।

नेपाली कांग्रेसको कार्यक्रममा आइतबारदेखि ४ दिन देउवा पोखरामै रहने छन् । आइतबार पोखरा महानगर समितिको सम्मेलन भएको हो । सम्मेलनमा पनि नेता कार्यकर्ताको उत्साहजनक सहभागिता थिएन । पोखरामा मात्र कांग्रेसको १४ हजारभन्दा बढी क्रियाशील सदस्य छन् तर निकै कम उपस्थिति देखेपछि नेताहरुले नै कांग्रेस पार्टी सुदृढीकरणमाथि चिन्ता व्यक्त गरेका थिए ।

सोमबार प्रदेश सभापतिहरुको प्रशिक्षण

नेपाली कांग्रेसको सोमबार सातै प्रदेश समितिका सभापति र उपसभापति तथा प्रशिक्षण शाखा प्रमुखको भेला तथा छलफल हुने छ ।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजना र प्रदेश समितिको व्यवस्थापनमा सभापति देउवा र विभाग प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश प्रचारप्रसार विभाग सदस्य सचिव राजबहादुर गुरुङले जानकारी दिए ।

प्रशिक्षण प्रतिष्ठानकै आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ ।

सभापतिहरुको २२ गते सुरु भएर २३ गते समापन हुने कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 3, 2025

प्रतिक्रिया दिनुहोस्