Logo
२६ मंसिर २०८१, बुधबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरार भएका विनायक छठ मनाउने क्रममा पक्राउ

काठमाडौं । जन्मकैदको सजाय पाएर कैद भुक्तान गरिरहँदा जेलबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका विनायककुमार यादव गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका-८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन्।

छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका—८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए ।

फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए।

झुम्का कारागारबाट भागेका विनायकलाई केहि समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो। यद्यपी कैद भुक्तानकालागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२/१/१२ गते भागेका थिए।

प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन्।

प्रकाशित मिति: Nov 8, 2024

प्रतिक्रिया दिनुहोस्