Logo
१९ मंसिर २०८१, बुधबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत

काठमाडौं- नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् ।

आज बिहान उक्त पदका लागि घनेन्द्र बस्नेतले र पाण्डेले उम्मेदवारी दर्ता गराएकोमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्ड सर्वसम्मत चयन भएका हुन् ।

समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज बिहान उम्मेदवारी दर्ता भइसकेको छ । आज हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा महिलातर्फबाट रामकुमारी झाक्री र जयन्तीदेवी राईले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष मधेशी समुदायको तर्फबाट धर्मनाथप्रसाद साह र रामचन्द्र झाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष खुल्लामा ११ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी, उपमहासचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, राजेन्द्र राईलगायतले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले आज मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्