Logo
३१ भाद्र २०८१, सोमबार
(August 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोलिग्राफ जाँच गर्न अस्विरका गर्दै बेचन झाको बयान : ‘आफूलाई केही थाहा छैन’

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ । झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि नमानेको खुलेको हो ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धान अधिकृतहरुले झा र केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन् ।

केसीले बयान दिएअनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई केसीले त्यो रकम मागेका थिए । चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए ।

अधिकृतहरुका अनुसार, अडियोमा केसीले मन्त्रिपरिषद्बाट निर्णयहरु भए/नभएकोबारे सोधेका छन् । त्यसक्रममा केसीलाई आश्वस्त पार्न समेत खोजिएको छ । तर, झाले भने त्यो अडियो पनि आफ्नो नभएको भन्दै परीक्षण गर्न तयार भएको भनेका छन् ।

उनीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।  यो समाचार अनलाइन खबरबाट सभार गरिएको हो ।

प्रकाशित मिति: Aug 14, 2024

प्रतिक्रिया दिनुहोस्