Logo
२७ भाद्र २०८१, बिहीबार
(August 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका गुट व्यवस्थापन गर्न कोशी प्रदेशमा मन्त्रालय फुटाउने तयारी

मधेसका मुख्यमन्त्रीले राज्यमन्त्रीहरू हटाउँदै गर्दा कोशी प्रदेशमा भने मन्त्रालय थप्ने तयारी चलिरहेको छ।

पहिलो पटक मुख्यमन्त्री बन्दा हिक्मत कार्कीले मन्त्रालय संख्या घटाएका थिए। उनै कार्की तेस्रो कार्यकालमा आइपुग्दा मन्त्रालय संख्या बढाउने तयारीमा जुटेका छन्।

आफू मन्त्रालय बढाउने पक्षमा नरहेको बताउने मुख्यमन्त्री कार्कीले ‘कार्यबोझ बढेको खण्डमा मन्त्रालय बढ्न सक्ने’ भनेर गएको आइतबार नै यसबारे संकेत दिएका थिए।

गठबन्धनको सहयात्री दल नेपाली कांग्रेस सरकारमा सहभागी नहुँदै मन्त्रालय बढ्न सक्ने बताएका मुख्यमन्त्री कार्कीले संख्या बढाउने अन्तिम तयारीमा पुर्‍याएको प्रदेशका एक उच्च तहका कर्मचारीले जानकारी दिए।

‘सम्भवतः अब तीन वटा मन्त्रालय थपिएला’, ती कर्मचारीले भने ‘निर्देशनअनुसार हामीले सोही रुपमा तयारी गरिरहेका छौं।’

कोशीमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक ८ मन्त्रालय छन्। यी आठमध्ये कांग्रेस र एमालेले ४–४ वटा मन्त्रालय लिने सहमति गरिसकेका छन्।

यद्यपि कांग्रेसभित्रको आन्तरिक भागबन्डाको किचलो नटुंगिदा उसको सत्तारोहण अझै अनिश्चित नै छ।

सहयात्री कांग्रेस सरकारमा सामेल नहुँदै मुख्यमन्त्रीले मन्त्रालय संख्या बढाउने तयारी गरेका हुन्। यसको खुलासा केही दिनअघि उनी आफैले गरेका थिए।

प्रकाशित मिति: Aug 14, 2024

प्रतिक्रिया दिनुहोस्