Logo
२९ असार २०८१, शुक्रबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपस्वी बताउँदै आएका रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

काठमाडौँ । आफूलाई तपस्वी बताउँदै आएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । सर्लाहीकै एक बालिकालाई फकाइ यौन दुरुत्साहन गरेको, जबरजस्ती करणी गरी बेपत्ता पार्ने कसुर गरेको अभियोगमा उनलाई जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

योसँगै बम्जनको परिचय फेरिएको छ । कुनै समय तपस्वी भनेर आफ्नो परिचय बनाएका उनी पछिल्लो समय फौजदारी अपराधमा दोषी ठहर भएका अभियुक्त बनेका छन् ।

जिल्ला न्यायाधीश जीवन भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण गर्न बाँकी छ । सजाय निर्धारण गर्न आगामी १७ गतेका लागि पेसी तोकिएको छ ।

उक्त दिन इजलासमा पुनः बहस हुनेछ । त्यसपछि अदालतले उनलाई हुने सजाय निर्धारण गर्नेछ । यसअघि सर्लाही जिल्ला अदाललते नै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आश्रममा रहँदा बम्जनले आफ्ना अनुयायीहरूलाई यौन शोषण गर्ने, जबरजस्ती बेपत्ता पार्ने कार्य गरेको आरोपमा आफन्तहरूले विभिन्न जिल्लामा उजुरी दिएका थिए । अनुयायी बन्न भनेर आश्रममा गएकाहरू बेपत्ता हुन थालेपछि आफन्तहरू प्रहरी कार्यालयमा उजुरी लिएर पुगेका थिए ।

बाल यौन दुरुपयोगमा के छ कानुनी व्यवस्था ?

बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ । यो दफाको उपदफा (३) मा कस्तो कार्यलाई बाल यौन दुर्व्यवहार मानिन्छ र त्यस्तो कार्य गर्नेलाई कस्तो कारबाही हुन्छ भनेर लेखिएको छ ।

ऐनको (क) अश्लील चित्र, श्रव्यदृश्य वा यस्तैखाले अन्य सामग्री देखाउने, देखाउन लगाउने कार्य भनी उल्लेख गरेको छ । यसमा अश्लील तथा यौनजन्य आचारण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लीलता प्रदर्शन गर्ने, गराउने कार्यलाई अपराधको रूपमा परिभाषित गरेको छ ।

यस्तो कार्य गर्नेलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ । सोही ऐनको (ख)मा बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र, श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने, त्यस्ता सामग्री प्रयोग गर्नेलाई अपराधको श्रेणीमा राखिएको छ । यस्तो कार्य गर्नेलाई पनि तीन वर्षसम्म कैद र ७५ हजार जरिवाना हुने उल्लेख छ ।

ऐनको (ग)मा यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्क्याउने कार्यलाई अपराधीकरणका रूपमा उल्लेख गरिएको छ । यसमा पनि तीन वर्ष कैद र ७५ हजार जरिवाना हुने भनिएको छ ।

बम्जनको हकमा यो कानुन व्यवस्था आकर्षित हुनेछ । ऐनको (ङ)मा यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो, अरु कसैको शरीरको संवेदनशील अङ्ग छुन, समाउन लगाउने तथा यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यलाई अपराधको रूपमा राखेको छ । यसमा पनि तीन वर्ष कैद र ७५ हजार जरिवाना हुने उल्लेख छ ।

ऐनको (छ)मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने, गराउने कार्य पनि परिभाषित गरेको छ । यस्तो कार्य गर्नेलाई बालबालिकासम्बन्धी ऐन २०७५ ले प्रचलित कानुन अनुसार जबर्जस्ती करणीको कसुरमा कारबाही हुने भनेको छ । यो प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता हो । अपराध संहिताको परिच्छेद १८ मा रहेको दफा २१९ मा जबर्जस्ती करणीसम्बन्धी कसुरमा सजायको व्यवस्था गरिएको छ ।

जसमा कुनै महिलाको मञ्जुरीविना करणी गरेमा वा १८ वर्षमुनिका बालिकालाई मनाएरै करणी गरे पनि जबर्जस्ती करणी मानिने उल्लेख छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका, सत्तरी वर्षभन्दा बढी उमेरका महिलामाथि करणी गर्नेलाई जन्मकैद हुन्छ । जन्मकैद भनेको २५ वर्ष जेल सजायसम्म अदाललते गर्न सक्नेछ । १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरका बालिकामाथि करणी गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म जेल सजाय हुन्छ ।

यसबाहेक आफ्नै संरक्षणमा राखेको बालिकालाई करणी गरेमा थप ३ वर्षसम्म कैद सजाय हुने प्रावधान अपराध संहिताको दफा २२२ को उपदफा २ मा छ । बम्जनको आश्रममा आएका कारण उनको संरक्षणमा रहेको भनी उनलाई थप सजाय पनि हुनसक्ने देखिन्छ ।

तीन आनी र दुई युवक बेपत्तामा पाँच उजुरी

आफूलाई लिटिल बुद्ध भनी प्रचार गरेका बम्जनविरुद्ध प्रहरीमा पाँच परिवारको उजुरी परेको छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न जिल्लाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

यसरी उजुरी परेकामध्ये सर्लाही जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालतले अनुमति दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

बम्जनले आफू लामो समय बाराको हलखोरियास्थित जङ्गलमा तपस्यारत रहेको बताउँदै आएका थिए । त्यसपछि उनी सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जङ्गल अतिक्रमण गरेर आश्रम बनाइ बस्दै आएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई पक्राउ गर्न खोजी सुरु ग¥यो । ब्यूरोको टोलीले उनलाई पक्राउ गर्न २०७७ असार ४ गते सिन्धुलीको आश्रममा छापा मारे पनि उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जङ्गलमा रहेको आश्रममा प्रहरीले छापा मारेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने प्रमाण फेला पारेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशङ्का गरिएको थियो ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए ।

पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल हराएको दाबी गरेका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया रुम्बा २०६८ मा बाराको हलखोरिया जङ्गलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । तर, उनी पनि सम्पर्कविहीन भएको भनी परिवारले जाहेरी दिएको थियो ।

सर्लाहीकी सुम्नी बोटकी कान्छी छोरी रिता बोटसँग प्रेम रहेको र विवाह गर्ने भन्दै बम्जनले नै लगेका थिए । तर पछि उनी सम्पर्कविहीन भएपछि प्रहरी कार्यालयमा परिवारले जाहेरी दिएको थियो ।

के हुन्छ बमजनको मुद्दा ?

सर्वप्रथम बम्जनविरुद्ध असार १७ गते सर्लाही जिल्ला अदालतले सजाय निर्धारण गर्छ । उक्त अदालतले उनलाई कति वर्ष कैद ठहर गर्छ, अनिमात्र उनको अन्य जिल्लामा विचाराधीन जाहेरीमा अनुसन्धान अघि बढ्ने छ । उनीमाथि थप व्यक्तिहरूको बारेमा अनुसन्धान सुरु हुन्छ ।

सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, बारा लगायतका जिल्लामा उनीविरुद्ध जाहेरी विचाराधीन छन् । ती जिल्लामा प्रहरीले उनलाई पेस गर्नेछ । त्यसपछि त्यहाँ भएको घटना र जाहेरीका आधारमा सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दायर हुन्छ ।

यी सबै अदालतमा एकपछि अर्को अभियोगपत्र चल्दै गर्दा बम्जन तल्लो अदालतको फैसलाविरुद्ध माथिल्लो अदालत जान भने पाउने छन् । सर्लाही जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै उनले उच्च अदालत जनकपुरमा पुनरावेदन दिन पाउने छन् । उनले थुनामै रहेर आफ्ना कानुन व्यवसायीमार्फत यस्तो पुनरावेदन दिन पाउने छन् ।

उच्च अदालतले गरेको फैसला पनि चित्त नबुझे उनी सर्वोच्चसम्म आउन सक्ने छन् । उनको हकमा १० वर्षभन्दा माथिको सजाय हुनसक्ने देखिन्छ । विभिन्न जिल्लामा अभियोग भएकाले थुना बाहिर रहेर उनले मुद्दा लड्न पाउने सम्भावना भने देखिँदैन ।

जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म आएर बम्जनका अभियोगहरू सदर भएमा उनले अदालतले तोकेको सजाय जेलमै बसेर बिताउनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्