Logo
२९ मंसिर २०८१, शनिबार
(June 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्प : केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उनले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताएका हुन् ।

उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुवात गरिसकेको बताए । ‘राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन ।

त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो । त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ । सोहीअनुसार सम्पूर्ण पार्टीपङ्क्ति लाग्नुपर्छ,’-उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल-सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताए ।

‘एमाले सत्तामा जान मिसन ०८४ भनेको हैन । नागरिकलाई उत्पादनशील जनशक्ति बनाएर सबै नेपालीलाई सुखी बनाउनका लागि हो । अन्य पार्टीले पनि सोही सिको गरेका छन्,’-उनले भने ।

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिए ।

कृषि क्रान्तिलाई असाधारणरुपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डोर्याउन सकिने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले देशैभर एमाले जिल्ला अधिवेशनको लहर चलिरहेकाले ‘प्यानल’ बनाएर हैन एकताका साथ नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति: Jun 10, 2024

प्रतिक्रिया दिनुहोस्