Logo
३१ असार २०८१, आईतबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरीरलाई यसकारण जरुरी हुन्छ म्याग्नेसियम

हाम्रो शरीर बन्न र चलायमान हुन धेरै खालका पोषक तत्व आवश्यक हुन्छ । जसमध्ये एक हो म्याग्नेसियम । शरीरमा प्रमुख सात प्रकारका खनिज हुन्छन्, एसियम, कोलोराइड, म्याग्नेसियम, फस्फोरस, पोटासियम, सोडियम र सल्फर ।

यीमध्ये म्याग्नेसियम शरीरको लागि अतिआवश्यक खनिज तत्व हो । म्याग्नेसियम शरीरमा ३०० इन्जाइमको क्रियाकलापमा पनि सक्रिय छ । इन्जाइम भनेको कोषिकामा पाइने रसायन हो, जसले खाना पचाउन, मांसपेशीहरू बनाउन र शरीरमा रहेको विषाक्त पदार्थ हटाउन मद्दत गर्छ ।

तसर्थ, म्याग्नेसियमले पनि इन्जाइमसँगै शरीरमा रहेको प्रोटिनलाई सन्तुलन, मांसपेशी तथा स्नायुको कार्यमा मद्दत गर्नुका साथै, ग्लुकोज नियन्त्रण र रक्तचाप नियमनसहित विभिन्न जैविक रासायनिक प्रतिक्रियाहरूलाई सन्तुलनमा राख्छ ।

त्यस्तै, मुटु, मस्तिष्क र अन्य अंगहरूको स्वास्थ्यका लागि त यो रामवाण नै हो भन्दा फरक पर्दैन । जिंक र क्याल्सियमसँग मिलेर मुटुलाई स्वस्थ राख्छ । म्याग्नेसियम मुटुको कोषिकाको झिल्लीको भित्री सतहमा पाइन्छ, जसले धमनीहरूलाई मुलायम राख्छ र मांसपेशीहरूलाई संकुचित हुनबाट रोक्छ ।  रक्तचापलाई पनि यसले नियन्त्रणमा राख्छ ।

हृदयघात हुने सम्भावना भएका मुटुका बिरामीमा म्याग्नेसियम पूरक (सप्लिमेन्ट)ले रक्तचाप कम गर्छ । र हृदयघातको जोखिमबाट जोगाउँछ । तर यो न कम खानु उचित हुन्छ, न धेरै खाएर फाइदा गर्छ । तसर्थ, सही मात्रामा म्याग्नेसियम खानु सबैभन्दा महत्वपूर्ण छ ।

यता, मस्तिष्कको कुरा गर्ने हो भने म्याग्नेसियमले न्युरोट्रान्समिटरहरूको उत्पादन र कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । जसले तनाव कम गरी मुडलाई राम्रो बनाउँछ ।

यसले कोर्टिसोलको स्तर घटाउँछ, जुन एक तनाव हार्मोन हो । यसले गामा–एमिनोब्युटिरिक एसिडको स्तर बढाउँछ, जुन एक महत्त्वपूर्ण न्युरोट्रान्समिटर हो । यसको मद्दतले मस्तिष्क शान्त रहन्छ ।

मस्तिष्क कोषिकाहरूबीच आन्तरिक र बाह्य संकेतहरू ओसारपोसारको काम पनि गर्छ । र, न्युरोप्लास्टिकिटीलाई पनि बढाउँछ, जसले स्मरणशक्ति सुधार गरी सिक्ने क्षमता बढाउँछ । अमेरिकी जर्नरल गेरियाट्रिक सोसाइटीले गरेको एक अध्ययनअनुसार म्याग्नेसियम दैनिक खाँदा बिर्सने रोग (डिमेनसिया)को जोखिम ३७ प्रतिशतले कम गराउँछ ।

कति आवश्यक ?

शरीरका हरेक कोषिकामा केही मात्रामा म्याग्नेसियम अनिवार्य हुन्छ । स्वस्थ मानिसको शरीरमा ५० ग्रामभन्दा कम म्याग्नेसियम हुन्छ । करिब ५०-६० प्रतिशत म्याग्नेसियम शरीरका हड्डीमा संग्रह हुन्छ भने केही मात्रामा म्याग्नेसियम रगतमा पाइन्छ ।

किन हुन्छ कम ?

म्याग्नेसियमको कमीका धेरै कारणहरू हुनसक्छन् । यो खानामा म्याग्नेसियमको पर्याप्त मात्रामा सेवन नगर्नेदेखि लिएर शरीरबाट म्याग्नेसियमको अत्याधिक मात्रामा निस्कने लगायत समस्याले हुनसक्छ ।

दैनिक अत्याधिक मात्रामा क्याफिनको सेवनले यसको स्तरलाई पनि असर गर्न सक्छ । त्यस्तै, धेरै रक्सी सेवन गर्दा पनि यसको कमी हुन्छ । धेरै एन्टिबायोटिक सेवनले पाचन प्रणालीलाई हानि पुर्‍याउँछ, जसले म्याग्नेसियम उच्च भएको खाना पचाउन गाह्रो बनाउँछ ।

शरीरमा म्याग्नेसियमको कमी भएमा विभिन्न स्वास्थ्य समस्याले घेर्न सक्छ । जुन निम्न छन् ।

– हातखुट्टा काम्नु, खुट्टा बाउँडिने समस्या छ भने म्याग्नेसियमको कमीले भएको हुनसक्छ । म्यागनेसियमको कमीले क्याल्सियमको मात्रा मांसपेशी र स्नायुमा बढी हुन्छ । जसकारण यी लक्षण देखिन्छ ।

– म्याग्नेसियम विना मांसपेसीको कार्य सञ्चालन सम्भव छैन । कुनै कारणवश कमी भएमा कोषिकाहरुमा पोटासियमको स्तर घट्ने हुँदा मांसपेशी दुख्ने, कमजोरी वा थकान अनुभव हुनसक्छ ।

– म्याग्नेसियमको कमीले उच्च रक्तचापको जोखिम बढाँउछ । म्याग्नेसियमको कमी हुने बित्तिकै क्याल्सियममा वृद्धि आई रक्तनलीहरूलाई साँघुरो बनाएर रक्तचाप बढाउँछ ।

– अनिद्रा पनि म्याग्नेसियमको कमीको एक सामान्य लक्षण हो । यो समस्या भएमा निदाउन नसक्ने र पटक-पटक मध्यरातमा ब्युँझिने हुनसक्छ । किनकि गहिरो निद्रा कायम राख्न न्युरोट्रान्समिटरको सन्तुलन गर्ने काम म्याग्नेसियमको पनि हो । जब कमी हुन्छ, तब सन्तुलन बिग्रिन्छ ।

– म्याग्नेसियमको कमी भएका व्यक्तिलाई ओस्टियोपोरोसिस हुने सम्भावना बढी हुन्छ । जसले हड्डीलाई कमजोर बनाउँछ र भाँचिने जोखिम हुन्छ । किनभने ४०–५० प्रतिशत म्याग्नेसियम हड्डीमा भण्डारण भई हड्डीहरूलाई बलियो बनाउँछ ।

यसको कमीका अन्य लक्षणहरूमा टाउको दुख्ने, डिप्रेसन, कपाल झर्ने, वाकवाकी लाग्ने हुनसक्छ । यदि म्याग्नेसियमको स्तर जटिल हुने गरी कम भएमा छारेरोग समेत लाग्न सक्छ ।

म्याग्नेसियमको स्रोत

हामीले म्याग्नेसियम खानेकुरा मार्फत पाउँछौं । काजु, बदाम, एभोकाडो, सालमोन, माछा, ओक्खर, हरियो सागपात, गेडागुडी, फर्सीको बीउ, बटमास, केरा, कालो सिमी, तिल, तोफु लगायतका खानेकुरा म्याग्नेसियमको प्रमुख स्रोत हुन् ।

 

लेखक:–डा. अनाम प्याकुरेल

प्रकाशित मिति: Jun 4, 2024

प्रतिक्रिया दिनुहोस्