Logo
२३ मंसिर २०८०, शनिबार
(October 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् । सोमवार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताइन् ।

उनले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन् । मन्त्री गुरुङले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताइन् ।

‘हामीले संघीयता प्राप्त गरेका छौँ । यो हिसावले हेर्ने हो भने हामीसँग तीन तहको सरकार छ । अधिकार पनि फरक फरक छ । त्यो हिसावले संघको सरकारले कतिपय कामहरुलाई कसरी अघि बढाउने ? प्रदेशको सरकारले कसरी अघि बढाउने ? र स्थानीय सरकारले कसरी अघि बढाउने ? भन्नेकुरा हामीले कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले हामीले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिरहेका छैनौँ । हामीले अहिले नै व्यवस्थालाई दोष दिने बेला भएको छैन’, उनले भनिन्, ‘झन्डै ४० वटा यस्तै प्रकृतिका र यस्तै समस्या समाधान गर्ने ऐन, कानूनहरु बनाउन बाँकी छ । त्यो हिसावले पनि हामी कार्यान्वयनकै चरणमा छौँ । कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुन्छ ।’

मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् ।

उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गरिन् । गुरुङले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरु कार्यान्वयनमा जान नसकेको बताइन् ।

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताइन् ।

प्रकाशित मिति: Oct 2, 2023

प्रतिक्रिया दिनुहोस्