Logo
११ बैशाख २०८१, मंगलबार
(June 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको विरोधका नाममा विरोध भइरहेको भन्दै यो उचित नभएको बताएका छन् । उनले भारत भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लाग्नुपर्नेमा विरोधमात्रै गर्नु उचित नभएको बताएका हुन् ।

राष्ट्रिय सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा धेरै उपलब्धि हासिल भएको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । ‘भारत भ्रमणमा उत्पात भयो भन्ने मेरो दाबी होइन । नयाँ सुरुआत भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ । यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो । ठिक भएको छ र अझ ठिक हुनुपर्छ भन्ने हो,’ उनको आग्रह थियो,’ हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्‍यो भन्नुपर्छ । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौं । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन ।’

भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा आपसी बुझाइ रहेको बताए । ‘नेपालमा एयररुट पहिलोपटक ऐतिहासिक नै हो । जति कुरा प्रस्टसँग राखिएको छ । सबै कुरा राखिएको छ । इतिहासदेखि थाती रहेका, १९५० को कुरा पहिलोपटक जाँदा पनि र अहिले पनि सबै समस्याहरूको विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्छ भन्ने कुरा राखिएको छ । यस अर्थमा पनि यो भ्रमण महत्त्वपूर्ण भएको छ,’ उनले भने, ‘दुई छिमेकीहरू राम्रो विश्वासको वातावरण बनाएर लिपुलेक, कालापानीको समस्या हल हुने हो । एकले अर्कालाई राजनीति मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । संवादद्वारा सकरात्मक ढंगले समाधानको उपाय खोज्ने हो । विश्वासको वातावरण बनाएर सीमाको विषय हल गर्छौं भनेको विषय अरु कसैले गर्‍यो र ? अरु कसैले गर्‍यो र ? हिजो सरकारको नेतृत्व उहाँहरूको दलले गरेको थियो ? प्रधानमन्त्री हुनुहुन्थ्यो, केही गर्नुभएको थियो ?’

मुलुकमा भएका सबै पक्षहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै एकताबद्ध भएर जाँदा बाह्य पक्षले पनि साथ दिने धारणा राखेका थिए ।

प्रधानमन्त्री दाहालले मिडियामा भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि राष्ट्रिय सभामा बताएका छन् । उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने बताएका छन् ।

‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ,’ उनले भने, ‘यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए । यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो । अब यो बारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’

प्रकाशित मिति: Jun 7, 2023

प्रतिक्रिया दिनुहोस्