Logo
१५ चैत्र २०८०, बिहीबार
(June 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई प्रभावकारी बनाउन गम्भीर आत्मसमीक्षा गर्ने बेला आयो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला आएको टिप्पणी गरेका छन् ।

शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी जेठ २ गते १०:१५ बजे सगरमाथाको शिखरमा पुगेका थिए ।

हाल इन्टरपोलमा १९५ राष्ट्र सदस्य छन् । हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो । इन्टरपोलले सतवार्षिकीमा विभिन्न कार्यक्रम गरी मनाएको छ । त्यस अवसरमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उक्त निर्णयमा नेपाल सफल भएको हो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै श्रेष्ठले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने उल्लेख गरे ।

प्रकाशित मिति: Jun 2, 2023

प्रतिक्रिया दिनुहोस्