Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाबारे मिश्रित प्रतिक्रिया

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महान्यायाधिवक्ताको कार्यालयबाट सार्वजनिक सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० को प्रयोगको आधारमा मात्रै समर्थन र विरोध गर्ने बताएका छन् । आइतबार महान्यायाधिवक्ता कार्यालयले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै घिमिरेले निर्देशिकाको प्रयोग नै महत्त्वपूर्ण भएको बताएका हुन् ।

उनले यसको प्रयोग असल नियतका साथ भए बारले सघाउने प्रतिबद्धता जनाए । उनले भने, ‘यसको प्रयोग कसरी हुन्छ भन्ने विषय नै महत्त्वपूर्ण हो । प्रयोग गर्दा खेरी यसलाई गुडफेथमा रहेर प्रयोग हुँदा हाम्रो यसमा राम्रो हुन्छ । समाजबाट अपराध निर्मूल गर्न, बिस्तारै भएको अपराध न्यूनीकरण गर्दै जान र एक दिन क्राइमलेस सोसाइटी बनाउनतर्फ राज्यको प्रमुख उद्देश्य रहने गर्छ । फौजदारी न्यायको पनि प्रमुख उद्देश्य त्यही नै हो । अपराधविहीन समाजको निर्माण गर्ने हो । त्यसो गर्दा व्यक्तिका अधिकार बीचमा आउँछन् । उचित अपराधीले सजाय पाओस् । त्यसतर्फ हामीले विचार गर्नुपर्छ । नेपालको अनुसन्धान पद्धतिलाई वास्तवमा अपराधको सुरुवातको चरण भनेको अपराध हो । अनुसन्धान पद्धतिमा धेरै पटक प्रश्न उठ्ने गरेको छ । अनुसन्धानको प्रयोगका बेला प्रयोग गर्ने सामान्य कुरा पनि प्रयोग गर्न सकेका छैनौँ । अपराधको क्रममा भएको जुन दशी छ, दशीको रक्षा गर्न नसकेको कारणले सही अपराधी पत्ता नलाग्ने, निर्पराध व्यक्तिहरूले सजाय पाउने वातावरण बन्दा दुर्भाग्य हुन्छ । सुरुमा नै यति छुट पाउँछौ स्वीकार गर भन्ने खालको बुझाइ भयो भने यो दुर्भाग्य हुन्छ । हामी यसलाई कन्सियस ढंगबाट स्वीकार गर्छौँ । नेपाल बारले यसको प्रयोगमा आधारित रहेर समर्थन र विरोध हुनेछ ।’

यता नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले भने निर्देशिकाप्रति असन्तुष्टि जनाए । उनले पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्ने बताए । उनले जारी भएको निर्देशिकाको ७,८,९,१०,११, १२ र १३ मा भएको व्यवस्थाले पीडित झनै पीडित हुने अवस्था आउने बताए ।

कानुन बमोजिम सजाय पाइ कैद भुक्तान गरिसकेको पटके अपराधीलाई पनि यो सुविधा दिन सकिने व्यवस्थाले केही चुनौती थपिन सक्ने उनको भनाई थियो ।

उनले यो निर्देशिका उचित हो वा होइन भन्ने बारेमा बहस हुन जरुरी रहेको बताए । उनले कसुरदारलाई सजाय छुटको दाबी लिएमा पीडित लगायत सोप्रति असहमत हुने पक्षले अन्य निकायमा उजुरी समेत गरेमा अनुसन्धान अधिकृत विवादमा आउन सक्ने अवस्था आउन सक्ने बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले निर्देशिका अनुसन्धान गर्नका लागि सघाउ पुग्ने हदसम्म मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । ज्ञवालीले यसको प्रयोग नगरी घटनाको छानबिन हुन नसक्ने भन्दै अनुसन्धानका दृष्टिले यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले कसैको लाभ वा कसैको फाइदाका लागि हेर्ने हो भने जारी निर्देशिका खतरायुक्त रहेको उल्लेख गरे । उनले विशेष अधिकारको प्रयोग गरिने ठाउँमा गलत प्रयोग पनि धेरै हुनसक्ने भन्दै अदालतले कार्यविधि बनाउँदा यो कुरालाई कसरी ग्रहण गर्छ भन्ने कुरा हेर्न बाँकी रहेको जिकिर गरे । उनले कुनै न कुनै अभियुक्तले कुनै न कुनै अनुसन्धान अधिकृतलाई सघाएन भने अनुसन्धान पूरा हुन नसक्ने बताए ।

प्रकाशित मिति: May 22, 2023

प्रतिक्रिया दिनुहोस्