Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समवेदना विज्ञापनले जन्मिएको फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’जेठ १२ गतेबाट प्रदर्शन

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै छ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ ।

सन्तोषका अनुसार उनले यो फिल्म कान्तिपुर दैनिकमा आएको एक समवेदना विज्ञापन पढेपछि कथा तयार पारेका थिए । त्यसबेला उनी काठमाडौंमा फिल्म ‘बालै फरर’को प्रि-प्रोडक्सनमा व्यस्त थिए ।

उनका अनुसार कान्तिपुरमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना छापिएको थियो । त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्‍याे कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे । ‘समवेदना नदेखेको भए फिल्म बन्दैन थियो । ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ । यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन् ।

समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए । सबैबाट फिल्म बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको फिल्म ‘बालै फरर’को काम रोकियो । फिल्मको काम रोकिएपछि सन्तोष पोखरा आए ।

सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे । उनले त्यसलाई कतै टिपेनन् । उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे । उनलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो ।

‘पोखरा आएपछि मैले शम्भु थापालाई फिल्मको पहिलो ड्राफट सुनाएँ । त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं । सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं । उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निष्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन् ।

सन्तोष फिल्मका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन् । ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं । त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन् ।

उनको बुझाईमा फिल्मले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ । ‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन् । श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन् । यी कुरालाई पनि फिल्ममा उठान गरिएको छ’, सन्तोषको बुझाइ छ ।

फिल्ममा सन्तोषले नै अभिनय गरेका छन् । उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन् । अवस्था त्यस्तै बन्यो । उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन् । तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन् । सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए ।

शम्भु थापा निर्देशित फिल्ममा प्रमिला खनाल, तेज गिरी, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्