Logo
१३ बैशाख २०८१, बिहीबार
(May 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीमा सरकार छाड्न माओवादीको आनाकानी : एमालेसँगको गठबन्धनबारे कांग्रेसभित्र छलफल

संघीय सरकारसहित धेरै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले सरकार गठन गरिरहँदा कोशी प्रदेशमा भने सत्ता परिवर्तन हुन सकेको छैन ।

कोशी प्रदेशमा बनेको एमाले नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेसले गरेको प्रयास माओवादी केन्द्रका कारण सफल हुन सकेको छैन । माओवादीले सरकार छाड्न आनाकानी गर्दा एमाले नेतृत्वको सरकार विस्थापित गरेर आफनो सरकार बनाउने कांग्रेसको प्रयत्नमा बाधा पुगेको छ ।

प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले माओवादी केन्द्रको अलमल र आनाकानीप्रति केन्द्रीय नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएको छ ।

केही दिनदेखि काठमाडौंमा रहेका कांग्रेसका बहुमत प्रदेश सांसदहरूले माओवादी गठबन्धनको मर्मविपरीत एमाले नेतृत्वको सरकारमा बसिरहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

माओवादीले एमाले नेतृत्वको सरकार नछोडे अन्य विकल्प समेत खोज्नुपर्ने सुझाव पनि दिएको बताइएको छ । उनीहरूले आगामी बजेट अघि नै सरकार परिवर्तन गर्नेगरी निर्णय गर्न केन्द्रीय तहका नेताहरूलाई दबाब दिएका छन् ।

काठमाडौंमा रहेका नेपाली कांग्रेसका एक जना प्रदेश सांसदले भन्छन्, ‘माओवादीले गठबन्धनलाई स्वीकार नगरे नयाँ समीकरण बनाउनुपर्छ भनेर पार्टीभित्र छलफल शुरु भएको छ ।

त्यो भनेको नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने हो,’ त्यस्तो समीकरण बन्ने विश्वासको वातावरण बने माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गर्ने अनि कांग्रेस र एमाले मिलेर सरकार बनाउने सकिने तर्क कांग्रेसका केही सांसदहरूले गरेको बताइएको छ । तर, त्यसबारे औपचारिक छलफल चाहिँ शुरु नभएको ती नेताले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारमा सहभागी हुन कांग्रेस लगायतका अन्य दललाई आग्रह गर्दै आएका छन् । प्रदेश सरकारको १०० दिने प्रगति सार्वजनिक गर्न केही दिनअघि आयोजित कार्यक्रममा उनले प्रदेशको विकास र समृद्धिका लागि मिलेर सरकार चलाउन सबै दलहरूलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री कार्कीको उक्त प्रस्तावबारे एमाले र कांग्रेसका नेताहरूबीच औपचारिक छलफल चाहिँ नभएको नेताहरूले बताएका छन् । कांग्रेससँग मिलेर सरकार बनाउँदा पाँचै वर्ष सरकार टिकाउन सकिने एमाले नेताहरूले बताउँदै आएका छन् ।

माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन सरकार बनाउन कोशी प्रदेशमा मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । तर कांग्रेसले एमालेपछि दोस्रो ठूलो दलका हिसावले नयाँ गठबन्धनमा आफनो पार्टीले मुख्यमन्त्री नछोड्ने बताउँदै आएको छ ।

कोशी प्रदेशमा ९३ जना सांसद छन् । त्यसमा एमाले ४०, कांग्रेस २९, माओवादी केन्द्र १२, राप्रपा ६, नेकपा एस ४ र जसपाका १ जना सांसद छन् ।

केन्द्रमा बनेको कांग्रेससहितको नयाँ गठबन्धनमा सभामुखसहित ४७ जना सांसद छन् भने एमाले राप्रपा गठबन्धनमा ४६ सांसद छन् । कोशी प्रदेशमा सरकार बनाउन ४७ जना सांसद आवश्यक हुन्छ ।

सभामुखलाई राजीनामा गराएर भए पनि नयाँ गठबन्धनको सरकार बनाउनुपर्ने कांग्रेसको भनाइ छ । माओवादी केन्द्रले भने आफूले पाएको सभामुख गुमाउन नहुने तर्क गर्दै आएको छ ।

प्रकाशित मिति: May 9, 2023

प्रतिक्रिया दिनुहोस्