Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा बिस्का जात्रा आजबाट सुरु हुँदै

भक्तपुरमा ८ रात ९ दिन मनाइने बिस्का(बिस्केट) जात्रा आज (सोमबार) बाट सुरु हुँदैछ । साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ ।

काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको सुरुवात गर्छन् । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ । रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन् ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थानेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । त्यसैगरी पहिले क्वनेतर्फ तानेर लान सके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ ।

जात्रामा रथ तान्ने परम्परागत रुट क्वनेतर्फ टौमढी, बुलुँचा, घट् खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल) तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रेयसम्म लग्निन्छ । र तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिंगो) उभ्याइन्छ भने साँझपख: तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ ।

लिंगो उभ्याउने जात्रा अर्को आकर्षण हो । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिंगो उभ्याउने गरिन्छ। लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्व ध्वजा भनिन्छ । एक जोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ । लिंगो उभ्याउन बाँधिएका आठ वटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ । लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छन् ।

लिंगो उठाउनुभन्दा अघि खौमास्थित इन्द्रायणी देवीको त्वारिवा जात्रा र तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यी दुई जात्रा सकेर त्यहाँको विशेष प्रसाद लिंगो उठाउने ठाउँमा लगिन्छ । लिंगो उठाएको हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिंगो उभ्याउने स्थानमा पुर्‍याइन्छ। लिंगो उठ्नासाथ स्थानीय वाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो ढालिन्छ। त्यसको लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइन्छ । यसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ । साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाले तानातान गर्छन् ।

आठौं दिन वैशाख ४ गते ‘द्य स्वंग व्य्यु’ जात्रा हुन्छ । यो दिन भक्तपुरबासीले परम्परागत भेषभूषामा सजिएर बाजागाजासहित नगरका ६० भन्दा बढी देवी देवतालाई गच्छेअनुसारका पक्वान्न, फलफूल र पैसा चढाउँछन् ।

भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रूपमा रहेकाले शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । जात्रामा हुने अवाञ्छित र उच्छृङ्खल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी गरी कारबाही गर्ने उनले बताए ।

प्रकाशित मिति: Apr 10, 2023

प्रतिक्रिया दिनुहोस्