Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन (फोटोफिचर)

मधेस प्रदेशमा दाइजाे प्रथासँगै महिला हिंसाको घटनामा कमि आएकाे छैन । बढ्दो दाइजाे प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन् । केटी पक्षले भनेजति दाइजाे नदिएकै निहुँमा मधेशमा महिलाकाे हत्यासम्म हुने गरेको छ।

बढ्दो दाइजाे र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको  छ ।

नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ । ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ ।  त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहाेर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ ।

विशेषगरी मधेसी समाजमा भनेजति दाइजाे नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ । सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजाेप्रथा, छोरी जन्माएकाे कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ ।

समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजाेप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रुपमा रहेको छुवाछुतप्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ ।

आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साहसहित दर्जनबढी कलाकारको सहभागिता छ ।

नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ । त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्