Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कप फुटबलमा नेपालले आज लाओससँग खेल्दै

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ ।

नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।

गत भदौमा अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले खुल्ला प्रतिस्पर्धाबाट एनेसलाई गत फागुन ११ गते नियुक्ति दिएको हो ।

छोटो समयमा उपलब्ध उत्कृष्ट खेलाडीहरु समेटेर नयाँ चुनौतीका लागि आफूहरु तयार रहेको प्रशिक्षक एनेसले बताएका छन् । उनले राष्ट्रिय टिममा ६ जना नयाँ अनुहार भित्र्याएका छन् ।

मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि छोटो तयारी समयका बाबजुद आफूहरु लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए ।

नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गरेको हो ।

प्रकाशित मिति: Mar 22, 2023

प्रतिक्रिया दिनुहोस्