Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौँ विवाह गर्ने

मिडिया टाइकुन रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेका छन् । लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन् । ९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए ।

मर्डोकले आफ्नो एक प्रकाशन, न्युयोर्क पोस्टलाई भने, ‘मलाई प्रेममा पर्न डर लाग्थ्यो तर मलाई थाहा थियो कि यो मेरो अन्तिम प्रेम हुनेछ । यो उत्कृष्ट हुनेछ । म खुसी छु ।’ मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए ।

रुपर्ट मर्डोकले एन लेस्ली स्मिथलाई प्रपोज गर्दा आफू निकै नर्भस भएको पनि बताए । स्मिथका श्रीमान् चेस्टर स्मिथ अब यो संसारमा छैनन् । उनी पेसाले गायक र रेडियो–टिभीका कार्यकारी थिए ।

स्मिथले मर्डोकसँगको आफ्नो सम्बन्धको बारेमा न्यूयोर्क पोस्टलाई बताइन्, ‘यो हामी दुवैका लागि ईश्वरले दिएको उपहार हो । हाम्रो भेट गत सेप्टेम्बरमा भएको थियो ।’

‘म विगत १४ वर्षदेखि विधवा हुँ । रुपर्टजस्तै मेरो श्रीमान् पनि व्यापारी थिए… त्यसैले म रूपर्टको भाषा बोल्छु । हामी दुवैको सोच एउटै छ ।’

मर्डोकका तीन विवाहबाट ६ सन्तान छन् । मर्डोकले भने, ‘हामी दुवै आफ्नो जीवनको दोस्रो हिस्सा एक साथ बिताउनका लागि उत्सुक छौँ ।’

दुवैले यसै गर्मीमा विवाह गर्नेछन् र त्यसपछि क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायत जस्ता विभिन्न ठाउँमा आफ्नो जीवन बिताउनेछन् ।

मर्डोकले यसअघि अस्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिसमा जन्मेका पत्रकार अन्ना मान र चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरेका थिए ।

प्रकाशित मिति: Mar 21, 2023

प्रतिक्रिया दिनुहोस्