Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्यो

वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको ब्याजदर बुधबारदेखि घटेको छ । बचतमा वाणिज्य बैंकको ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ ।

अब निक्षेपकर्ताले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाउने छन् । यसअघि ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बचतमा ब्याजदर घटे पनि मुद्दती निक्षेपमा भने घटेको छैन । मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले हाल ११ प्रतिशतसम्म ब्याजदर दिन्छन् । संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर दिएका छन् ।

कर्जामा पनि ब्याजदर घटेको छ । खासगरी प्रिमियम दरको उच्चतम सीमा घटेपछि कर्जाको ब्याजदर उच्च हुनेलाई राहत मिलेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले आधार दरसँग बढीमा ५ प्रतिशत मात्रै ऋणमा प्रिमियम जोड्ने निर्णय बुधबारदेखि लागू भएको एसोसिएसनका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

यसअघि बैंकहरुले कर्जा दिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । चैत मसान्तमा आधार दर समायोजनपछि वैशाखदेखि कर्जाको ब्याजदर थप १.७५ प्रतिशत बिन्दुसम्म घट्ने देखिएको छ ।

यस्तै, विकास बैंकहरुको पनि ब्याजदर घटेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । त्यस्तै समयावधिअनुसार मुद्दती निक्षेपको ब्याजदर तय गरेको छ ।

जसअनुसार एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११. ६० प्रतिशत कायम भएको छ । एक वर्षभन्दा कमको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको छ ।

यसअघिसम्म विकास बैंकहरुले दुवै प्रकारको मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । विकास बैंकले संस्थागत मुद्दती निक्षेपमा ९. ६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् ।

साधारण बचतमा ६.६० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछन् । त्यसैगरी, फाइनान्स कम्पनीहरुलेले मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाएका छन् ।

तीन महिनामाथिको निक्षेपको ब्याज दर भने ०.१५ प्रतिशत घटाएका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशतसम्म ब्याज दिँदै आएकामा आजदेखि ११. ९० प्रतिशतसम्म मात्रै दिनेछन् ।

प्रकाशित मिति: Mar 15, 2023

प्रतिक्रिया दिनुहोस्