Logo
४ बैशाख २०८१, मंगलबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय निजामती ऐनबारे मन्त्री मोदीले गरे प्रशासन महाशाखाका प्रमुखसँग छलफल

संघीय मामिला तथा सामान्य मन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयको सभा हलमा मन्त्री मोदीले आज छलफल गरेका हुन् ।

छलफलमा क्रममा प्रशासन महाशाखामा प्रमुखहरूले निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षण लगायतका सन्दर्भमा राय राखेका थिए । सेवामा रहेका निजामती कर्मचारीहरूलाई अन्यायमा पर्ने गरी ऐन नल्याउन महाशाखाका प्रमुखहरूले सुझाव दिएका थिए ।

छलफलका क्रममा सुझावसहित विज्ञका रूपमा प्रस्तुति राखेका जनप्रशासन क्याम्पस, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा। नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी भएको बताए । ‘नेपालमा नैतिकताको धरातल निकै कमजोर छ, कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी नै छ’ उनको सुझाव थियो, ‘कर्मचारीलाई कसरी नैतिकताको कसीमा बाँध्ने हो, अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर ऐनमा केही व्यवस्था राखौँ ।’

मन्त्रालयका सचिव कृष्णहरी पुष्करले छलफलमा प्राप्त सकारात्मक सुझावहरूलाई मन्त्रालयले ग्रहण गर्ने बताए ।

मन्त्री मोदीले भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । देश र जनतालाई सम्झेर सुझाव दिन मन्त्री मोदीले छलफलका सहभागीहरूलाई आग्रह गरे ।

ऐनको विषयमा बाहिर सकारात्मक माहौल बनाउन भूमिका निर्वाह गर्न समेत मन्त्री मोदीले निर्देशन दिए । ‘तपाईँहरू यो समाजको अब्बल र बौद्धिक मान्छे हुनुहुन्छ, ऐनको सन्दर्भमा बाहिर सकारात्मक वातावरण निर्माण गर्ने दायित्व तपाईँहरूको पनि हो, तपाईँहरूबाट म यो भूमिकाको अपेक्षा गर्न चाहन्छु ।’ मन्त्री मोदीले भने ।

सकारात्मक परिणामका लागि क्रियाशीलता बढाइराखेका मन्त्री मोदीले ऐनको विषयमा यसअघि पूर्व प्रधानमन्त्री, मन्त्रालयका पूर्व मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, पूर्व सचिव, विज्ञ, कर्मचारी सङ्गठनका पदाधिकारी लगायतसँग छलफल गरिसकेका छन् ।

 

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्