Logo
६ चैत्र २०८०, मंगलबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपालाई पुनः सरकारमा ल्याउन पहल भइरहेको छ : सञ्चारमन्त्री

संघीय सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन्।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन्।

उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको उल्लेख गरिन्।

उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन। त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन।

प्रधानमन्त्रीज्युले बाहिर सार्वजनिक रुपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरुलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ। त्यसका लागि पहल, प्रयत्न भइरहेको छ।’

यसैबीच नेपाल सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्तै सरकारले भारतमा आयोजना हुने नेपाल-भारत विद्युत व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणको लागि रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई भ्रमणमा जान स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

उनका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२ औँ तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फर्स्ट फेस टु फेस मिटिङमा सहभागी हुन स्वीकृति दिने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिव अर्जुनप्रसादप पोखरेललाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरुवा गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशेष श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने, बढुवा समितिकै सिफारिस बमोजिम विभिन्न मन्त्रालयअन्तर्गतका विभिन्न सेवा समूह, उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्