Logo
१५ चैत्र २०८०, बिहीबार
(February 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ ।

कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानुनी व्यवस्था छ ।

पहिलो सुनुवाई हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको उनले बताए ।

६ नम्बर इजलाशकी न्यायाधीस तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपुर्ती भराउने माग दाबी गर्दैै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेका अभियुक्त श्रेष्ठ तीन महिनादेखि फरार रहेका थिए ।

गत असोज १९ गते छिमेककी १४ वर्षिय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लगाउदै पीडित किशोरीले असोज २५ मा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीकाअनुसार आरोपित श्रेष्ठले बाहिर बस्दा पनि असुरक्षित महसुस गरेर पुष १६ मा आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।

श्रेष्ठलाई हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो ।

श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रक्रिया टुङ्ग्याएर सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमबार अदालतमा पेस गरेको थियो ।

प्रकाशित मिति: Feb 7, 2023

प्रतिक्रिया दिनुहोस्