Logo
७ बैशाख २०८१, शुक्रबार
(February 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षाको सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार नै शिक्षा हो’ प्रधानमन्त्रीले भने, ‘शिक्षालाई प्राथमिकता नदिईं हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । त्यसैले शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्ने भएकाले शिक्षा नै महत्वपूर्ण हो ।’

प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे । फरक प्रसंगमा प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी पछि मन्त्रिपरिषदको पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए ।

‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमश : विकासको गति लिनेछ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफुलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौती थपिएको बताए । ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीहरूको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ’, प्रधानमन्त्रीको विश्वास छ ।

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति: Feb 3, 2023

प्रतिक्रिया दिनुहोस्