Logo
१५ चैत्र २०८०, बिहीबार
(January 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी बैठक : अन्तर्घातीलाई कारवाही गर्न छानविन समितिको प्रस्ताव

नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलगायत समसामयीक विषयमाथि छलफल भइरहेको छ ।

निर्वाचन समिक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘व्रिफिङ’ गरेका थिए ।

दोस्रो दिनको बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानविन समिति बनाएर छानविन गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।

‘चुनावी समिक्षाका क्रममा केही नेताहरुले अन्तरघातीहरुलाई कारवाही गर्नपर्ने प्रस्ताव गर्नुभएको छ’, एक स्थायी समिति सदस्यले भने, ‘यो लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।’ यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानविन समिति त्यसै सेलाएको थियो ।

बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

माओवादीले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि संवाद गरिरहेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति गरिसकेको माओवादीले नेकपा एस, विप्लव लगायतका दलहरुसँग संवाद भैरहेको जनाएको छ ।

यो बाहेक बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी रहेको नेताहरुको भनाइ छ ।

प्रकाशित मिति: Jan 27, 2023

प्रतिक्रिया दिनुहोस्