Logo
१२ बैशाख २०८१, बुधबार
(January 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह

मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो ।

मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति राख्दै सबै क्षेत्र, तहको साझा प्रयासबिना यो समस्या नियन्त्रण हुन नसक्ने बताइन् ।

‘पछिल्लो तथ्याङ्कलाई हेर्दा नेपालमा ४० हजार तीन सय व्यक्ति बेचबिखन तथा ओसारपसार भएको देखिन्छ’, उनले भनिन्, ‘तर यस्ता क्रियाकलापविरुद्ध मात्र एक सय ३४ उजुरी परेका छन् ।’

ओसारपसारका विरुद्धमा उजुरी नगण्य मात्रामा पर्नु निकै दुखद् कुरो भएको बताउँदै सहसचिव बस्नेतले यसमा सचेतना र अभियान दुवै आवश्यक भएको जनाइन् ।

गरिबी, अशिक्षा र वैदेशिक रोजगारीका कारण बढी महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसारमा परेको प्रतिक्रिया दिएको उनले मूलतः आन्तरिक र बाह्य दुवै ओसारपसार भएकाले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणको अभियानमा लाग्न समग्र क्षेत्रलाई अनुरोध गरिन् । कार्यक्रममा उनले नीतिगत, संरचनागत समस्या भए पनि मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ बनेको जनाइन् ।

सामाजिक विकास मन्त्रालयका प्रतिनिधि अनिता ज्ञवाली, बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, महिला अधिकारकर्मी पवित्रा शाहीलगायतले सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वय, सहकार्य तथा साझेदार निकायहरूको सहयोगबाट राज्यले लिएको लक्ष्यमा पुगिने बताइन् ।

उक्त कार्यक्रममा मानवअधिकारकर्मी, स्थानीय तहका न्यायिक समितिका संयोजक, महिला शाखा प्रमुख, किशोर किशोरी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि एवं सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 12, 2023

प्रतिक्रिया दिनुहोस्